अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पतञ्जली जग्गा घोटाला सम्बन्धी मुद्दामा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बुधबार विशेष अदालतमा बयान दिएका छन्।
न्यायाधीश तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा उनका बयान सकिएको छ। नेपाल पक्षका एक अधिवक्ताका अनुसार बयान ‘टी ब्रेक’ अघि समाप्त भएको छ र अब थुनछेक बहस हुने तयारी भइरहेको छ।
नेपालको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी, खम्मबहादुर खाती लगायत लगभग १२० जना कानुन व्यवसायी बहसका लागि नाम टिपेका छन्। तर, थुनछेक बहस लम्बिएमा पूर्वप्रधानमन्त्री नेपालले न्यायिक हिरासत बस्नुपर्ने हुनसक्ने भएकाले केही वकिलले मात्रै बहस अघि बढाउने योजना बनाइएको छ।
अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त बहसमा सहभागी छन्। पन्तलाई बहसका लागि निजी वकिलका रूपमा नियुक्त गरिएको छ। स्रोतका अनुसार थुनछेक बहस आजै सक्ने सम्भावना छ। अख्तियारले जेठ २२ गते यो मुद्दा विशेष अदालतमा दायर गरेको थियो।