© २०२३
काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट समयमै ल्याउन सकेन। यसको जिम्मेवारी बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाह (बालेन) माथि लगाएको छ। समितिले मेयर बालेनलाई पटक-पटक दबाब दिने प्रयास गर्दा पनि उनले बेवास्ता गरेको आरोप लगाएको छ। स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै मेयरले राख्न पहल नगरेपछि बजेट समयमा पेस गर्न नसकिएको समितिको ठहर छ।
मंगलबार राति बसेको अनौपचारिक बैठकमा समितिले मेयरलाई अझै पनि गम्भीर भएर बजेट ल्याउन ध्यान दिन आग्रह गरेको थियो। त्यसपछि बुधबार औपचारिक रूपमा पनि समितिले मेयर बालेनलाई यस विषयमा ध्यानाकर्षण गराएको छ। समितिका प्रवक्ता नवीन मानन्धरले भने, “सबैभन्दा बढी पहल मेयरज्यूले गर्नुपर्ने हो तर त्यो भएन। उहाँले समन्वय गर्नुभएको भए बजेट हिजो नै तयार भइसक्थ्यो।”
समितिले गरेको समीक्षा अनुसार बजेट सीमा निर्धारण नभएको कारणले विकास निर्माण, कर्मचारी पारिश्रमिक, ज्येष्ठ नागरिक भत्ता र फोहोरमैला सङ्कलन जस्ता महत्त्वपूर्ण सेवा साउन १ गतेदेखि प्रभावित हुनसक्ने खतरा देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ ले बजेट असार १० गतेभित्र नगरसभामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ। तर महानगरपालिकाले समयसीमा नपाल्नु कानुनी रूपमा पनि समस्या बनिरहेको छ।
त्यसैगरी, ऐनको दफा ६६ अनुसार नगर प्रमुख संयोजक रहेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले वैशाख १० गतेभित्र आफ्नो कार्य सम्पन्न गरी बजेट तर्जुमामा सहजीकरण गर्नुपर्ने थियो, तर त्यो पनि पूरा हुन सकेन।
बजेट तर्जुमा समितिको संयोजक उपप्रमुख डंगोल छन्। सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईं, सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, राजश्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, सुशासन समितिका संयोजक ख्याम तिवारी, सामाजिक समितिका संयोजक रामकुमार केसी, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, भवन व्यवस्थापन समितिका संयोजक हिरालाल तण्डुकार, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, कृषि तथा पशुपंक्षी तथा सहकारी व्यवस्थापन समितिका संयोजक रामजी भण्डारी, विपद् समितिका संयोजक प्रेम थापा र सदस्य सचिव सुमित्रा लामिछाने रहेका छन्।
