© २०२३
बर्दिया, २७ जेठ ।
धेरै पहिलाको कुरा होइन, अँधियामा खेत जोत्न पाउनैका लागि छोरीलाई कमलरी पठाउने चलन थियो । किसान किसानबिच बटैयामा (अँधिया) खेत जोत्न तँछाडमछाड हुन्थ्यो । जग्गाधनीलाई खुसी पार्न उनीहरूले घरमै पालेको मुर्गा (लोकल कुखुरा) खुवाउँथे । जग्गाधनीको सक्ने जति राम्रै गरी सेवा गर्थे । चाडपर्वमा निम्तो गर्थे । आफू खानु भन्दा पहिला जग्गाधनी (जमिनदार) लाई माछामासुसंगै खानपिनले सत्कार गर्थे । जग्गाधनीको भागको धान चामल घरमै पु¥याएर खुसी पार्थे । तर समय फेरिएको छ । किसानले बटैयामा धान लगाउन छाडेका छन् ।
रोपाइँका बेला पनि कतिपय गाउँका खेत बाँझै छन् । कतिपय जग्गा जग्गाधनीले उर्वर जग्गामा रुख बिरुवा लगाएका छन् । रुखविरुवा लगाउनुको कारण हो १०/२० वर्षका लागि खेतीपाती गर्ने झन्झटबाट मुक्त हुनु हो । ‘चार÷पाँच वर्ष पहिले जग्गा जोत्न माग्न किसान घरमै आउँथे । किसान छानी छानी जग्गा दिन पाइन्थ्यो । अहिले त्यो अवस्था रहेन,’ जग्गाधनीले उल्टै किसानहरूका घरमा गएर खेत जोत्नका लागि आग्रह गर्नुपर्ने भएको छ । कोही किसान भेटियो भने खेल लगाउनका लागि लाएको आधा खर्च व्योहोर्न पर्ने हुन्छ ।
किसानले उत्पादन गरेको अन्नबाली मन लागेको बेला जग्गाधनीलाई बटैया (अँधिया) गर्नका लागि बोलाउँछन् । त्यसै समस्या भोगी रहेका बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ५ का जग्गाधनी सोमप्रसाद थारु भन्छन्,‘मेरो खेत जोतिदेउ भनेर अनुरोध गर्नु पर्ने भएको थियो । तर पनि अँधियामा खेती गर्ने मान्छे पाइँदैन ।’ धेरै वर्ष अँधियामा खेत जोत्नका लागि किसानलाई दिए र खेती गर्दा लाग्ने आधा खर्च समेत दिँदा पनि किसानले आफ्नो मनोमानीको हिसाबले बटैया गर्नका लागि बोलाउने गर्थे, उत्पादन भएको भन्दा धेरै कम अन्न पाउने र लगानी पनि आधा तिर्नु पर्ने भएको कारणले आफै फेरी खेती गर्न सुरु गरेको छु ।
उनले २ विगहा जग्गा बटैया दिँदै आएको थिए बाँकी १ विगहा जमिनमा आफै खेती गर्दा आएका थिए तर किसानले उत्पादन भएको अन्न ३ भागको एक भाग मात्र दिन थालेपछि आफै खेती गर्न थालेको बताए । वृद्धा भत्ता पाउन लागेको करिब ३ वर्ष भयो परिवारमा एउटा छोरी र दुई श्रीमती मात्र छौँ त्यसमा पनि कान्छी श्रीमती अपाङ्ग भएको छ, अब यो वर्षको धान काटेर २ विगहा खेतमा रुख रोप्ने योजनामा छु ।
त्यसतै उनको भाइ गोवर्धन थारुले पनि बाटै खेत जोत्ने किसान नपाएर आफै खेती गर्न बाध्य भएका छन् । ‘उनले भने, पहिला बटैया दिँदै आएका किसानले यो वर्ष देखि बटैया नदिने भनेपछि आफै खेती गर्न लागेको छु ।’ सुरुमा किसानले बटैया जोत्नका लागि आफै घरमा आउने गर्थे तर केही समय यता खेती भन्दा दैनिक ज्यालादारी गरी आम्दानी पाउन थालेपछि उतै आकर्षित भएका छन् ।
आखिर किन किसानले अधियामा खेत लगाउन चाहँदैनन् ? कृषि अधिकारी भन्छन्,‘कृषिमा किसानलाई श्रम र पसिना बढी बगाउनु पर्छ । श्रम अनुसारको पारिश्रमिक पाउन सकिरहेका छैनन् । जसका कारण नयाँ पुस्ता कृषिमा लाग्न चाहँदैनन् ।’ खेतीयोग्य जग्गामा रुख बिरुवा रोप्न थालिएपछि खेतीयोग्य जग्गा खुम्चिँदै गएको छ ।
युवापुस्तामा खेतीप्रतिको आकर्षण निकै घटेको छ । खेत जोत्नका लागि गोरुभैसी गाउँमा देखिँदैन । खेती गर्नेले पनि ट्याक्टरले जोत्छन् । अधिकांशले आफूले पुग्ने मात्रै खेती गर्न थालेका छन् । बाँझै रहने खेतमा बिरुवा लगाउन थालिएको छ । बर्दियामा एक दशकअघि ७५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने कृषिको तथ्याङ्क छ । तर पछिल्लो तथ्याङ्कले करिब ४६ हजार हेक्टर जग्गामा धान खेती देखाएको छ । त्यस्तै खाद्यान्न फल्ने खेतमा इँटा उद्योग खोलिएका छन् ।