Butwal Today

रोल्पामा चलिरहेको ईभी गाडीको ढोकाबाट खसेर एक यात्रु गम्भीर घाइते

३ मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

रोल्पा ।

रोल्पाको त्रिवेणी गाउँपालिकामा गुडिरहेको विद्युतीय गाडी ९ईभी० को ढोकाबाट खसेर एक यात्रु गम्भीर घाइते भएका छन् । लिवाङबाट जुगारतर्फ जाँदै गरेको ईभी गाडीमा सवार यात्रु ढोकाबाट खस्दा टाउकोमा चोट लागेर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्राप्त विवरणअनुसार, २ गते राति करिब ८ बजेर १५ मिनेटको समयमा त्रिवेणी गाउँपालिका–५ स्थित जनजागृति स्कुलको गेट नजिकै नुवागाउँ–जुगार भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो ।

भे १ ज १७६२ नम्बरको ईभी गाडीमा यात्रा गरिरहेका त्रिवेणी गाउँपालिका–३ छाप निवासी ३० वर्षीय गणेश घर्ती मगर गाडीको ढोकाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ । उक्त गाडी त्रिवेणी गाउँपालिका–६ कालिपानी निवासी करिब २५ वर्षीय राजु परियारले चलाइरहेका थिए ।

दुर्घटनामा यात्रु घाइते भएको सूचना राति ८ बजेर २० मिनेटमा प्रहरी चौकी जुगारमा प्राप्त भएको थियो । खबर पाएलगत्तै ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घाइते घर्ती मगरलाई तत्काल उद्धार गरी स्थानीय नेर्पा स्वास्थ्य चौकीमा उपचारका लागि पुर्‍याएको थियो ।

प्रहरीका अनुसार घाइतेको टाउकोमा चोट लागेको छ र उनको अवस्था गम्भीर रहेको छ । घटनापछि गाडीमा सवार अन्य आठ जना यात्रुलाई सुरक्षित रूपमा आ–आफ्नो गन्तव्यतर्फ पठाइएको बताइएको छ ।

दुर्घटनालगत्तै प्रहरीले ईभी गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक विवरणमा चालकले मादक पदार्थ सेवन गरे वा नगरेको भन्ने विषय खुल्न नसकेको उल्लेख छ । यद्यपि, गाडीका आवश्यक कागजात भने साथमै रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनास्थल प्रहरी चौकी जुगारबाट करिब चार किलोमिटर पूर्वमा पर्ने जनाइएको छ । घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसैबीच, राति ११ बजेर ५० मिनेटको समयमा गाडी र चालकलाई प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले इलाका प्रहरी कार्यालय होलेरी, रोल्पा लगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

गुडिरहेको सार्वजनिक यातायातको ढोकाबाट यात्रु खसेर घाइते भएको यस घटनाले यात्रु सुरक्षाको विषयलाई पुनः चर्चामा ल्याएको छ । विशेषगरी ग्रामीण तथा भित्री सडकमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा ढोका बन्द राख्ने, यात्रुलाई सुरक्षित रूपमा यात्रा गराउने र चालकले आवश्यक सावधानी अपनाउने विषयमा ध्यान दिनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?