Butwal Today

कतारको नज्मामा खुल्यो सद्भाव नेपाली रेष्टुरेन्ट,आठ नेपालीले पाए रोजगारी

३ मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

दोहा, कतार ।
कतारमा नेपालीहरूको व्यावसायिक उपस्थिति विस्तार हुँदै गएको छ। वैदेशिक रोजगारीका लागि कतार पुगेका नेपालीहरू रोजगारीमा मात्र सीमित नभई उद्यमशीलता र व्यवसायमार्फत पनि आफ्नो पहिचान स्थापित गर्न थालेका छन्। यसैक्रममा कतारको नज्मामा ‘सद्भाव नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ।

नेपाली स्वाद, मौलिक परिकार र नेपालीपनलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको रेष्टुरेन्टको
उद्घाटन बुधबार साँझ नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले रिबन काटेर गरेका हुन्।

 

उद्घाटनका क्रममा कार्यवाहक राजदूत राईले नेपाली स्वाद, मौलिक परिकार र संस्कृतिलाई प्राथमिकता दिँदै कतारमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएकोमा सञ्चालकलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे। नेपाली परिकारको प्रवर्द्धनसँगै नेपाली स्वादलाई कतारमा चिनाउन रेष्टुरेन्टले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले व्यवसायको उत्तरोत्तर प्रगतिको कामना गरे।

 

रेष्टुरेन्टमा दाल, भात, तरकारी, अचार, ढिँडो, गुन्द्रुक, मःम, चाउमिन, थुक्पा, सेकुवा, छोइलालगायत नेपाली स्वादका विभिन्न परिकार उपलब्ध छन्।
ग्राहकको सहजतालाई ध्यानमा राख्दै रेष्टुरेन्टले रफिक, तालाबात र किटा जस्ता लोकप्रिय फुड डेलिभरी प्लेटफर्ममार्फत समेत खाना अर्डर गर्न सकिने व्यवस्था मिलाएको छ।

 

रेष्टुरेन्टको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सलिना गुरुङले सम्हालेकी छन्। उनीसँगै अन्य तीन जनाको समेत संयुक्त लगानी तथा साझेदारी रहेको छ। रेष्टुरेन्ट सञ्चालनमा आएसँगै आठ जना नेपालीले प्रत्यक्ष रोजगारीको अवसरसमेत पाएका छन्। नेपाली स्वाद र मौलिक परिकारमार्फत ग्राहकको मन जित्ने लक्ष्य राखेको बताउँदै सञ्चालक गुरुङले रेष्टुरेन्टमा एकपटक भ्रमण गरी नेपाली परिकारको स्वाद लिन सबैलाई आग्रह समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?