© 2026
नवलपरासी ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको छ ।
स्थानीय कृषि, पर्यटन, संस्कृति तथा उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला–२०८३ मा गाउँपालिकाभित्रका विभिन्न पर्यटकीय गन्तव्यका तस्बिर प्रदर्शनीमा राखिएका हुन् ।
सरावल उद्योग वाणिज्य सङ्घको आयोजनामा सरावल गाउँपालिका–२, मझरकुण्डामा सञ्चालन भइरहेको मेलामा राखिएको प्रदर्शनीले अवलोकनकर्तालाई एउटै स्थानबाट गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलको जानकारी दिने गरेको छ । प्रदर्शनीमा विभिन्न मठमन्दिर, ऐतिहासिक तथा धार्मिक स्थल, तालतलैया, वन क्षेत्र र प्राकृतिक सम्पदाका तस्बिर समेटिएका छन् ।
धार्मिक आस्था, ऐतिहासिक महत्त्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण सरावलका कतिपय पर्यटकीय स्थल अझै पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा छन् । स्थानीयस्तरमा रहेका यस्ता गन्तव्यको पहिचान र प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । यही सम्भावनालाई उजागर गर्न मेलामा फोटो प्रदर्शनी राखिएको हो ।
प्रदर्शनीमा राखिएका तस्बिरले सरावलको धार्मिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई एकै ठाउँमा प्रस्तुत गरेका छन् । यसले स्थानीय बासिन्दासँगै मेलामा पुग्ने अन्य क्षेत्रका अवलोकनकर्तालाई समेत गाउँपालिकाभित्र रहेका पर्यटकीय सम्भावनाबारे जानकारी लिन सहज बनाएको छ ।
स्थानीय मठमन्दिर, ऐतिहासिक स्थल, तालतलैया र हरियाली क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके गाउँपालिकाको पहिचान विस्तार हुनुका साथै स्थानीय आर्थिक गतिविधि र रोजगारीका अवसरसमेत बढाउन सकिने अपेक्षा गरिएको छ ।
कृषि, पर्यटन, खेलकुद, संस्कृति तथा उद्योगलाई सरावलको दिगो विकास र अर्थतन्त्रको आधार बनाउने नारासहित आयोजना गरिएको मेलाले स्थानीय उत्पादन, व्यवसाय र पर्यटकीय सम्भावनाको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकको छ ।
यद्यपि, पर्यटकीय स्थलको प्रचारप्रसारलाई मेला र फोटो प्रदर्शनीमा मात्र सीमित नराखी तिनको संरक्षण, आवश्यक पूर्वाधार निर्माण, पहुँचमार्ग सुधार र व्यवस्थित सूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता छ ।