© 2026
बुटवल ।
रूपन्देहीको तिलोत्तमामा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवद्र्धन महोत्सव आज (बिहीबार) देखि सुरु हुँदैछ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्सिर १६ गतेसम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
तिलोत्तमा नगरपालिका–५, मणिग्राममा आयोजना हुने मेलामा औद्योगिक तथा स्थानीय उत्पादनको प्रवद्र्धन, व्यापार विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्य राखिएको छ । ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी ः दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजना हुने मेलामा करिब तीन सय स्टल रहनेछन् ।
सङ्घका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै उद्योगी, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए । उनका अनुसार मेलाले स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधिको परिचय र लगानीका अवसर विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री गरिनेछ । सङ्घका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पङ्गेनीका अनुसार कृषि र पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइएको छ । स्थानीय उत्पादन तथा व्यावसायिक गतिविधिसँगै नयाँ प्रविधिबारे जानकारी दिने कार्यक्रमसमेत मेलामा समेटिएका छन् ।
मेलालाई मनोरञ्जनात्मक बनाउन विभिन्न आकर्षणसमेत राखिएका छन् । सङ्घका महासचिव तथा मेला प्रवक्ता राजकुमार पाण्डेका अनुसार ८० फिट अग्लो वाटर फल, चरखे पिङ, ३६० डिग्री झुला र जिरो ग्राभिटी झुला मेलाका प्रमुख आकर्षण हुनेछन् ।
त्यस्तै, पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक शैलीमा मुख्य प्रवेशद्वार निर्माण गरिएको छ । रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम र बालउद्यानले पनि मेलामा आउने अवलोकनकर्तालाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ ।
तिलोत्तमा नगरपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसारका लागि पर्यटन ग्यालरीसमेत राखिनेछ । यसमार्फत नगरभित्रका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलको जानकारी एकै ठाउँबाट उपलब्ध गराउने योजना छ ।
यसपटकको मेलालाई व्यापार र मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, श्रम र वातावरणीय सचेतनासँग पनि जोडिएको छ । जलवायु परिवर्तन र त्यसले पारेका प्रभावबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । विद्यार्थीलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने कार्यक्रमका साथै हरेक दिन सफल उद्यमीका अनुभव र प्रेरणादायी मन्तव्य प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी विभिन्न समसामयिक तथा व्यावसायिक विषयमा प्यानल छलफल, श्रम डेस्क स्थापना र श्रम अडिटको कार्यक्रमसमेत राखिएको छ । यस्ता कार्यक्रमले उद्योगी, व्यवसायी र श्रमिकबीचको सम्बन्ध सुधार तथा श्रमसम्बन्धी विषयमा जानकारी र सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।
सङ्घका निवर्तमान अध्यक्ष गुणनिधि (माधव) भण्डारीले यसअघि तीनवटा औद्योगिक व्यापार मेला सफलतापूर्वक सम्पन्न गरिसकेको सङ्घले चौथो संस्करणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तयारी गरेको बताए । उनका अनुसार मेलालाई सफल बनाउन सङ्घका पदाधिकारी तथा कार्यसमिति सदस्यलाई विभिन्न जिम्मेवारी बाँडफाँट गरी परिचालन गरिएको छ ।
मेलामा नेपाल उद्योग वाणिज्य महासङ्घ र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासङ्घ संरक्षक तथा लुम्बिनी प्रदेशको वन, वातावरण तथा पर्यटन मन्त्रालय प्रवद्र्धक रहेका छन् । तिलोत्तमा नगरपालिका, रूपन्देही चेम्बर अफ कमर्स र तिलोत्तमा उद्योग व्यापार सङ्गठन सहआयोजकका रूपमा रहेका छन् ।
१४ दिनसम्म सञ्चालन हुने मेलाले स्थानीय उत्पादनको बजार विस्तार, औद्योगिक लगानीको वातावरण निर्माण, कृषि तथा पर्यटन प्रवद्र्धन र रोजगारीका अवसर सिर्जना गर्न योगदान पु¥याउने आयोजकको विश्वास छ ।