© 2026
बुटवल ।
निर्धारित समयभित्र निर्माण तथा मर्मतको काम सम्पन्न गर्न नसकेका बाँके र बर्दियाका तीनवटा रुग्ण आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । पटकपटक म्याद थप गर्दा पनि निर्माण कार्यमा प्रगति नभएपछि सडक डिभिजन कार्यालय नेपालगन्जले ठेक्का रद्द गरेको हो । ठेक्का तोडिएका आयोजनामा रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक मर्मत, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजना रहेका छन् ।
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेका र पटकपटक म्याद थप्दा पनि प्रगति नदेखिएका आयोजनाको ठेक्का सम्झौता तोडिएको हो । रत्न राजमार्गको जमुनाहा–पन्ध्रेखोला सडकखण्डको मर्मत गत वर्ष नै सम्पन्न हुनुपर्ने थियो । त्यस्तै, औरही नदी पुलको पहुँचमार्ग सुधार र ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक सुधार आयोजना आर्थिक वर्ष २०८१÷८२ भित्रै सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले काम पूरा गर्न सकेका थिएनन् ।
भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनअनुसार प्रगतिको सम्भावना नरहेका रुग्ण आयोजनाको ठेक्का तोडिएको कार्यालयले जनाएको छ । अब त्यस्ता आयोजनालाई नयाँ प्रक्रियाबाट अघि बढाउने तयारी गरिएको छ ।
यसैबीच, लामो समयदेखि अलपत्र रहेको बर्दियाको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सडक डिभिजन कार्यालय नेपालगन्ज र चितवनको भरतपुर–३ स्थित एमआर एन्ड ग्रुपबीच गत कात्तिक १६ गते पुल निर्माणसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । ६७ करोड ४५ लाख ६९ हजार १५० रूपैयाँ लागतमा निर्माण हुने पुल दुई लेनको हुनेछ । पुलको लम्बाइ ४२० मिटर र चौडाइ ११ मिटर रहने कार्यालय प्रमुख भट्टले जानकारी दिए ।
निर्माण कम्पनीले सम्झौता भएको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन तयार गरी पुलको विस्तृत डिजाइन स्वीकृत गराउनुपर्नेछ । त्यसपछि निर्माण कार्य अघि बढ्नेछ ।
सडक डिभिजन कार्यालयले २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो ।