Butwal Today

आमाबुबाको सम्झनामा धर्मशाला र वृद्धाश्रम

३० कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ सबुनी गाउँमा दिवंगत आमाबुबाको स्मृतिमा धर्मशालासहित वृद्धाश्रम निर्माण भइरहेको छ । रामग्राम नगरपालिका–५ निवासी व्यवसायी बालगोविन्द जैसवालले आफ्ना आमाबुबा बदामी र कन्हैयाको नाममा करिब एक करोड रूपैयाँ लगानी गरेर उक्त संरचना निर्माण गरिरहेका हुन् ।

जैसवालले आमाबुबाको सम्झनालाई समाजसेवासँग जोड्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा ‘बदामी कन्हैया स्मृति संस्था’ दर्ता गरी निर्माण कार्य अघि बढाएका हुन् । उनका अनुसार हालसम्म निर्माणमा करिब ६० लाख रूपैयाँ खर्च भइसकेको छ । निर्माण सम्पन्न गर्न थप करिब ४० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

करिब तीन कठ्ठा जग्गामा निर्माण भइरहेको भवनमा धर्मशाला, सभाहल र वृद्धाश्रम सञ्चालन गर्ने योजना छ । निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले धार्मिक, सामाजिक तथा सामूहिक कार्यक्रमका लागि भवन प्रयोग गर्न पाउनेछन् । भविष्यमा आवश्यकताअनुसार थप जग्गा उपलब्ध गराउने योजना पनि रहेको जैसवालले बताए ।

‘आमाबुबाको सम्झनामा यस्तो काम गरौँ, जसबाट उहाँहरूको नाम पनि रहिरहोस् र समाजलाई पनि फाइदा पुगोस् भन्ने सोचले निर्माण सुरु गरेको हुँ,’ जैसवालले भने ।

उनका अनुसार धर्मशालामा आध्यात्मिक अभ्यास तथा धार्मिक गतिविधि सञ्चालन गरिनेछ । सभाहललाई गाउँका विभिन्न सामाजिक कार्यक्रम, सामूहिक भोज, व्रतबन्ध, विवाहलगायतका कार्यमा उपयोग गर्न सकिनेछ । त्यसैगरी परिवारको साथ र सहयोगबाट वञ्चित ज्येष्ठ नागरिकलाई आश्रय दिन वृद्धाश्रम सञ्चालन गर्ने योजना बनाइएको उनले बताए ।

गाउँसमाजको सहमति र सहभागितामा निर्माण भइरहेको संरचनामा स्थानीयको आवश्यकता र सुझावलाई समेत समेटिएको जैसवालको भनाइ छ । व्यक्तिगत रूपमा सुरु गरिएको भए पनि यसलाई समुदायको साझा सम्पत्तिका रूपमा विकास गर्ने उनको योजना छ ।

आमाबुबाको स्मृतिमा समाजका लागि उपयोगी संरचना निर्माण गरिएको भन्दै स्थानीयले जैसवालको प्रशंसा गरेका छन् । व्यक्तिगत प्रयोजनमा खर्च गर्न सकिने रकम सामाजिक हितमा लगाउनु सकारात्मक काम भएको उनीहरूको भनाइ छ ।

स्थानीयका अनुसार गाउँमा धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गर्न पर्याप्त पूर्वाधारको अभाव रहेकाले धर्मशाला र सभाहल निर्माणले सहजता थप्नेछ । वृद्धाश्रम सञ्चालनमा आएपछि असहाय तथा सहाराविहीन ज्येष्ठ नागरिकलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

निर्माणाधीन संरचना सम्पन्न भएपछि सबुनी गाउँमा धार्मिक, सामाजिक र सामुदायिक गतिविधि सञ्चालन गर्ने साझा स्थल उपलब्ध हुनेछ । आमाबुबाको नाममा स्थापना गरिएको संस्थामार्फत निर्माण भइरहेको यस संरचनालाई दीर्घकालीन रूपमा सञ्चालन र व्यवस्थापन गर्ने योजना रहेको जैसवालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?