© 2026
नवलपरासी ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ ललितपुरस्थित हुलासी घोलको किनारमा मधेश सांस्कृतिक पार्क निर्माण भइरहेको छ । स्थानीय धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई पर्यटनसँग जोड्ने उद्देश्यले गाउँपालिकाले करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको वृक्षारोपण क्षेत्रमा पार्क निर्माणको काम अघि बढाएको हो ।
पार्क निर्माणका क्रममा हालसम्म ३४ लाख रूपैयाँ खर्च भइसकेको वडा नं. ४ का अध्यक्ष सुरेश यादवले जानकारी दिए । उनका अनुसार पार्कको घेराबार, प्रवेशद्वार र विश्रामस्थल निर्माणको काम भइरहेको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गर्दै निर्माण कार्यलाई निरन्तरता दिएको उनले बताए ।
हुलासी घोलको किनारमा रहेको हरियाली क्षेत्रलाई व्यवस्थित गरी सांस्कृतिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ । पार्कमा स्थानीय समुदायका धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न आवश्यक संरचना निर्माण गरिनेछ ।
यस क्षेत्रमा मुस्लिम समुदायको कर्बला छ । मोहर्रमका अवसरमा यहाँ मेला लाग्ने गरेको छ । त्यस्तै, स्थानीय मधेशी समुदायले कृष्ण जन्माष्टमी, नागपञ्चमी र दशहरालगायत पर्वमा मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन् । पार्क निर्माण भएपछि यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले स्थानीय संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणलाई विकास योजनासँग जोडेर अघि बढाइएको बताए । उनका अनुसार गाउँपालिकाभित्र रहेका विभिन्न जातजाति तथा समुदायका मौलिक संस्कृति, परम्परा, मेला, जात्रा र धार्मिक स्थलको पहिचान गरी संरक्षण गर्ने योजना छ ।
‘सडक पूर्वाधार मात्रै विकास होइन, सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकास पनि उत्तिकै महत्वपूर्ण छ,’ अध्यक्ष चौधरीले भने, ‘यहाँको प्राकृतिक सुन्दरता र स्थानीय संस्कृतिलाई जोडेर पर्यटन विकास गर्ने हाम्रो योजना हो ।’
गाउँपालिकाले सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि पर्यटन विकास तथा सांस्कृतिक संरक्षण कोष स्थापना गर्ने तयारीसमेत गरेको छ । आवश्यक कानुनी व्यवस्था गरेर कोष सञ्चालन गर्ने र त्यसबाट स्थानीय संस्कृति तथा सम्पदाको संरक्षणमा लगानी गर्ने अध्यक्ष चौधरीले बताए । गाउँपालिकालाई आगामी दिनमा सांस्कृतिक गाउँपालिकाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
पार्क निर्माणले स्थानीयस्तरमा पनि चासो बढाएको छ । स्थानीय सन्दीपकुमार हरिजनले वृक्षारोपण क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयासले स्थानीयमा उत्साह थपिएको बताए । ‘पार्क निर्माण सुरु भएपछि यस क्षेत्रको आकर्षण बढेको छ,’ उनले भने, ‘गाउँपालिकाले आफ्नै स्रोतबाट काम गरिरहेको छ, तर प्रदेश र सङ्घीय सरकारबाट अहिलेसम्म सहयोग प्राप्त भएको छैन ।’
प्रस्तावित पार्क भारतसँग जोडिएको महेशपुर नाकाबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने भुताहा–महेशपुर सडक नजिकै छ । सडक पहुँचका हिसाबले सहज स्थानमा रहेकाले पार्क निर्माण सम्पन्न भएपछि सरावलसहित आसपासका क्षेत्रका बासिन्दा तथा सीमापारिबाट आउने भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने गाउँपालिकाको अपेक्षा छ ।
गाउँपालिका अध्यक्ष चौधरीले आगामी केही वर्षभित्र पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । पार्कलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन थप बजेट, आवश्यक पूर्वाधार र नियमित व्यवस्थापन आवश्यक पर्ने देखिन्छ ।