Butwal Today

फूलले फुल्यो लुम्बिनीको कृषि

३० कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

बुटवल ।
तिहार र छठ पर्वमा फूलको माग धान्न बाहिरी जिल्ला र भारतको भर पर्नुपर्ने लुम्बिनी प्रदेशमा पछिल्ला वर्षहरूमा स्थानीय उत्पादनले बजारको हिस्सा बढाउँदै लगेको छ । यस वर्ष तिहार र छठका अवसरमा प्रदेशका १२ जिल्लामा उत्पादित फूलबाट करिब सात करोड रुपियाँको कारोबार भएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार यस वर्ष प्रदेशभर ५९ हेक्टर क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको थियो । उक्त क्षेत्रफलबाट २७९ मेट्रिक टन फूल उत्पादन भएको छ । चाडपर्वलाई लक्षित गरी गरिएको व्यावसायिक खेतीले किसानलाई आम्दानीको अवसर दिनुका साथै प्रदेशको पुष्प व्यवसाय विस्तारमा समेत योगदान पु¥याएको छ ।

कुनै समय तिहारमा प्रयोग हुने सयपत्री र मखमलीका माला बाहिरी जिल्लाबाट ल्याउनुपर्ने अवस्था रहेकामा अहिले प्रदेशभित्रै व्यावसायिक रूपमा फूल उत्पादन हुन थालेको छ । किसानले चाडपर्वलाई लक्षित गरेर खेती विस्तार गरेपछि बजारमा स्थानीय उत्पादनको उपस्थिति बढेको कृषि प्राविधिकहरू बताउँछन् ।

लुम्बिनी प्रदेश कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार यस वर्ष उत्पादित फूलमध्ये सबैभन्दा बढी हिस्सा सयपत्रीको छ । प्रदेशभर २५९ मेट्रिक टन सयपत्री उत्पादन भएको छ । यसको बिक्रीबाट करिब छ करोड ९४ लाख ५३ हजार रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको थियो ।

त्यस्तै, १८.५ मेट्रिक टन मखमली उत्पादन भएको छ । यसबाट करिब ६० लाख ५० हजार रूपैयाँको कारोबार हुने अनुमान थियो । गुलाबलगायत अन्य कट फ्लावरको उत्पादन पनि प्रदेशका विभिन्न जिल्लामा हुँदै आएको छ ।
गैरेका अनुसार चाडपर्वमा फूलको माग उच्च हुने र छोटो अवधिमै आम्दानी लिन सकिने भएकाले किसान व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका हुन् । बिरुवा सारेको करिब तीन महिनामै फूल उत्पादन सुरु हुने र एकै बोटबाट पटकपटक फूल टिप्न सकिने भएकाले सयपत्री खेती किसानका लागि आम्दानीको राम्रो विकल्प बनेको उनको भनाइ छ ।

जिल्लागत विवरणअनुसार फूलखेतीको क्षेत्रफलका आधारमा कपिलवस्तु अगाडि छ । जिल्लामा २१ हेक्टर जमिनमा फूलखेती गरिएको थियो । यहाँ ४८ मेट्रिक टन फूल उत्पादन भएको छ । उत्पादनका आधारमा दाङ र रूपन्देही पनि अग्रस्थानमा देखिएका छन् ।

दाङमा ८.८ हेक्टर क्षेत्रफलमा खेती गरी ४८.५ मेट्रिक टन फूल उत्पादन भएको छ । यहाँबाट एक करोड ५२ लाख ३० हजार रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको थियो । बाँकेमा पाँच हेक्टरमा खेती गरी ३८.५ मेट्रिक टन उत्पादन भएको छ । बाँकेमा एक करोड ५१ लाख ७५ हजार रूपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको थियो ।

रूपन्देहीमा भने तुलनात्मक रूपमा कम क्षेत्रफलमा बढी उत्पादन भएको छ । जिल्लामा २.८३ हेक्टर जमिनमा गरिएको खेतीबाट ४२.४५ मेट्रिक टन फूल उत्पादन भएको छ । यसबाट एक करोड ४८ लाख ५७ हजार रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको थियो ।
कपिलवस्तुमा २१ हेक्टरमा खेती भए पनि उत्पादन ४८ मेट्रिक टन रहेको छ । यहाँ एक करोड तीन लाख २० हजार रूपैयाँ बराबरको कारोबार हुने अनुमान थियो । त्यस्तै, पाल्पामा पाँच हेक्टरमा खेती गरी ३९ मेट्रिक टन फूल उत्पादन भएको छ । पाल्पामा ७७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको थियो ।

नवलपरासी पश्चिममा ३.७५ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको थियो । यहाँबाट ६२ लाख ५० हजार रूपैयाँ बराबरको कारोबार हुने अनुमान थियो । पहाडी जिल्लामध्ये गुल्मीमा ४.७५ हेक्टरमा १७ मेट्रिक टन, रोल्पामा एक हेक्टरमा आठ मेट्रिक टन, प्यूठानमा साढे पाँच मेट्रिक टन, अर्घाखाँचीमा तीन मेट्रिक टन र रुकुम पूर्वमा साढे दुई मेट्रिक टन फूल उत्पादन भएको विवरण छ । बर्दियामा सबैभन्दा कम १.२३ हेक्टर क्षेत्रफलमा दुई मेट्रिक टन उत्पादन भएको थियो ।

प्रदेशभित्र उत्पादन बढ्दै गए पनि स्थानीय उत्पादनले चाडपर्वको सम्पूर्ण माग धान्न सकेको छैन । तिहार र छठका बेला फूलको खपत उच्च हुने भएकाले अझै चितवन, नवलपरासीलगायत बाहिरी जिल्लाबाट फूल ल्याउनुपर्ने अवस्था रहेको कृषि प्रसार अधिकृत गैरेले बताए ।
उनका अनुसार व्यावसायिक खेतीको क्षेत्रफल बढे पनि बजारको मागअनुसार उत्पादन विस्तार गर्नुपर्ने आवश्यकता छ । किसानलाई उत्पादनसँगै बजारको सुनिश्चितता, गुणस्तरीय बीउबिजन र खेतीसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउन सके पुष्प व्यवसाय थप विस्तार हुन सक्ने उनको भनाइ छ ।

स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न केही स्थानीय तहले पनि पहल थालेका छन् । बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाले भारतबाट आयात हुने प्लास्टिकजन्य कृत्रिम फूलमाला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेका थिए । स्थानीय किसानले उत्पादन गरेका ताजा फूलको प्रयोग बढाउन र प्लास्टिकजन्य मालाबाट वातावरणमा पर्ने असर न्यूनीकरण गर्न यस्तो आग्रह गरिएको थियो ।
बुटवल उपमहानगरपालिकाले पुष्प व्यवसायीहरूसँग समन्वय गरी नगर क्षेत्रका १७ वटा कृषि फार्मबाट ताजा फूल खरिद गर्न सकिने व्यवस्था मिलाएको थियो । उपमहानगर प्रमुख खेलराज पाण्डेले स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने तथा वातावरण र जनस्वास्थ्य संरक्षण गर्ने उद्देश्यले यस्तो पहल गरिएको बताएका थिए ।

चाडपर्वमा केन्द्रित भएर गरिने फूलखेतीलाई वर्षभरको व्यावसायिक उत्पादनमा विस्तार गर्नु अहिलेको चुनौती हो । तिहार र छठमा मात्रै बजार पाउने अवस्थाबाट बाहिर निकाल्न सके किसानले नियमित आम्दानी लिन सक्नेछन् । त्यसका लागि फूलको व्यावसायिक बजारीकरण, शीतभण्डारण, बिक्री केन्द्र र उत्पादनको विविधीकरणमा ध्यान दिनुपर्ने कृषि प्राविधिकहरू बताउँछन् ।

यस वर्षको कारोबारले लुम्बिनी प्रदेशमा पुष्प व्यवसायको आर्थिक सम्भावना देखाएको छ । प्रदेशका सबै जिल्लामा खेती विस्तार हुँदै जानु र स्थानीय उत्पादनले बजार पाउनुले यस क्षेत्रलाई व्यावसायिक कृषिको अर्को सम्भावनायुक्त क्षेत्रका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ । तर बाहिरी जिल्लाबाट फूल ल्याउनुपर्ने अवस्था अन्त्य गर्न उत्पादन र बजार व्यवस्थापन दुवैमा थप लगानी आवश्यक देखिएको छ ।

नेपाल भारत सीमा नजिक भएकाले भारतबाट अवैध र सस्तोमा आउने फूलका कारण स्थानीय उत्पादनले लागत अनुसारको उचित बजार भाउ पाउन नसकेको कतिपय किसानले गुनासो गरेका छन् । यसवर्षबाट फूmलखेतीमा जोडिएका पत्रकार हरिलाल बस्यालले बिक्रीको अनुपात सोचे भन्दा राम्रो भएको भन्दै आगामी बर्ष फुल खेतीलाई बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?