© 2026
बुटवल । चारैतिर गुञ्जिरहेका बौद्ध मन्त्र, सामूहिक प्रार्थनामा तल्लीन भिक्षु–भिक्षुणी र विभिन्न देशबाट आएका बौद्ध धर्मावलम्बीको उपस्थितिले गौतम बुद्धको जन्मस्थल लुम्बिनी यतिबेला आध्यात्मिक ऊर्जाले भरिएको छ । कुनै समय सुनसानजस्तै देखिने लुम्बिनीमा पछिल्ला दिनमा धार्मिक गतिविधिसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । एकै समयमा भएका तीन ठूला अन्तर्राष्ट्रिय आध्यात्मिक कार्यक्रमले लुम्बिनीलाई फेरि विश्व बौद्ध समुदायको आकर्षणको केन्द्र बनाएका छन् ।
लुम्बिनीका विभिन्न गुम्बा र विहारमा बिहानदेखि साँझसम्म प्रार्थना, धार्मिक प्रवचन र बुद्धवचन वाचन भइरहेका छन् । पहेँलो र गेरुवस्त्र धारण गरेका भिक्षु–भिक्षुणीका समूह सडक र उद्यानमा देखिन्छन् । विभिन्न बौद्ध परम्परा र देशका अनुयायीहरू एउटै स्थानमा भेला भएर शान्ति, सद्भाव र मानव कल्याणको कामना गरिरहेका छन् । केही कार्यक्रममा धार्मिक मन्त्रोच्चारणलाई विभिन्न भाषामा अनुवाद गरेर सहभागीलाई सुनाउने व्यवस्था गरिएको छ ।
पछिल्ला दुई सातायता लुम्बिनीमा देखिएको यो चहलपहलले धार्मिक आस्थासँगै आध्यात्मिक पर्यटनको सम्भावनालाई पनि उजागर गरेको छ । लामो समयदेखि सुस्ताएको लुम्बिनीको पर्यटन गतिविधिमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले नयाँ ऊर्जा थपेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु सिरी बजिर बताउँछन् । उनका अनुसार विभिन्न देश र बौद्ध सम्प्रदायका अनुयायी एकै ठाउँमा भेला भएर शान्तिको सन्देश प्रवाह गर्नु लुम्बिनीका लागि महत्वपूर्ण अवसर हो ।
अहिले लुम्बिनीमा एकैसाथ तीनवटा ठूला विश्व शान्ति पूजा तथा धार्मिक कार्यक्रम भएका छन् । नेपालका श्रामणेरी आनीहरूले कात्तिक १३ देखि १५ गतेसम्म आठौँ विश्व शान्ति मोन्लम पूजा आयोजना गरेका थिए । नेपाल बौद्ध लोटस श्रामणेरी संघको आयोजनामा भएको कार्यक्रममा एक सय जना श्रामणेरी सहभागी थिए ।
त्यसैगरी भारतको हिमाचल प्रदेशका बौद्ध धर्मावलम्बीले पाँचदिने प्रथम ताक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव आयोजना गरे । मानवसहित सम्पूर्ण जीवजन्तुको रक्षा, सुख, शान्ति र दीर्घायुको कामनासहित गरिएको उक्त कार्यक्रममा दुई सय ५० जना भिक्षु–भिक्षुणी सहभागी थिए । कात्तिक २० गते सम्पन्न कार्यक्रममा नेपालका धर्मगुरु फडो रिम्पोछे, माफ्तो रिम्पोछे र छेम्टो रिम्पोछेले सहस्र बुद्धको अभिषेक तथा प्रवचन दिएका थिए । अमेरिका, क्यानडा, मलेसिया, भियतनाम, चीन, हङकङ र थाइल्यान्डबाट एक सयभन्दा बढी उपासक–उपासिका सहभागी भएको कार्यक्रम संयोजक खेम्पो लोप्हेलले बताए ।
यसैबीच लुम्बिनीस्थित थाउजेन्ड बुद्ध गुम्बामा कात्तिक १५ देखि २१ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय प्रणिधान समारोह सञ्चालन भएको थियो । विभिन्न मुलुकका बौद्ध भिक्षु, भिक्षुणी र साधकले एकै ठाउँमा भेला भएर बुद्धका उपदेश सामूहिक रूपमा वाचन गरेका थिए । पाली, संस्कृत, चिनियाँ, तिब्बती र भियतनामीसहित विभिन्न भाषामा बुद्धवचन वाचन गरिएको उक्त कार्यक्रममा प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेले नेतृत्व गरेका थिए ।
कार्यक्रममा भएका धार्मिक प्रवचनलाई नेपाली, अंग्रेजी, फ्रेन्च, स्पेनिस, रसियन, जर्मन र मंगोलियन भाषामा अनुवाद गरिएको थियो । सात भाषामा अनुवादको व्यवस्था गरिनुले लुम्बिनीको आध्यात्मिक गतिविधिमा अन्तर्राष्ट्रिय सहभागिताको आयामसमेत थपेको छ ।
सातदिने समारोहपछि कात्तिक २२ देखि तीन दिनसम्म बुद्ध शिक्षा प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । महायानी कानिङ सम्प्रदायका मूलगुरु छोकी निमा रिन्पोछेले सहस्र बुद्धको अभिषेक तथा प्रवचन दिएका थिए । कार्यक्रममा १८ मुलुकका दुई सय ५० विदेशी र नेपालका विभिन्न स्थानबाट आएका पाँच सयभन्दा बढी उपासक–उपासिका सहभागी थिए ।
तिब्बती बौद्ध परम्पराको महत्त्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको थियो । बौद्ध मान्यताअनुसार बुद्धले देवताको लोकमा आफ्नी मातासहित देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गरेको घटनाको स्मरणमा यो पर्व मनाइन्छ । तिब्बती पात्रोको नवौँ महिनाको २२ औँ दिन मनाइने यस पर्वलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ ।
धार्मिक गतिविधिको विस्तारले लुम्बिनीको पर्यटन व्यवसायमा पनि सकारात्मक प्रभाव पारेको छ । लामो समयदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय चलायमान हुन थालेको लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि शर्माले बताए । उनका अनुसार आध्यात्मिक कार्यक्रमका कारण विभिन्न देशबाट आउने बौद्ध धर्मावलम्बीको संख्या बढ्दा होटेल तथा पर्यटन व्यवसायमा चहलपहल थपिएको छ ।
पर्यटकको आगमन बढ्नु सकारात्मक भए पनि उनीहरूको बसाइ अवधि लम्ब्याउन सके लुम्बिनीले अझ बढी आर्थिक लाभ लिन सक्ने पर्यटन व्यवसायी पुरुषोत्तम अर्यालको भनाइ छ । “पर्यटक आगमन बढ्दा यहाँका व्यवसायी उत्साहित छन्,” उनले भने, “तर पर्यटकलाई केही घण्टा घुमाएर मात्रै पठाउनेभन्दा उनीहरूको बसाइ अवधि बढाउने योजना बनाउन सक्नुपर्छ ।”
लुम्बिनीको आध्यात्मिक वातावरण र प्राकृतिक सुन्दरताले विदेशी पर्यटकलाई समेत आकर्षित गरिरहेको छ । जर्मनीका पर्यटक जेस्पर मोलरले लुम्बिनीमा शान्ति र सद्भावको अनुभूति गर्न पाएको बताए । उनका अनुसार हरियाली फाँट, स्वच्छ मौसम, सुन्दर मन्दिर र दक्षिणतर्फ देखिने हिमशृङ्खलाको दृश्यले लुम्बिनीको आकर्षण थपेको छ । खुला आकाशमुनि रहेको शान्त उद्यानमा समय बिताउँदा विशेष अनुभूति भएको उनले सुनाए ।
लुम्बिनीको बढ्दो चहलपहललाई धार्मिक कार्यक्रमको सहभागिताको संख्यामा मात्रै सीमित गरेर हेर्न नहुने लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राई बताउँछन् । उनका अनुसार विभिन्न देशका बौद्ध धर्मावलम्बीको सहभागिताले लुम्बिनीको अन्तर्राष्ट्रिय धार्मिक पहिचान र आध्यात्मिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याइरहेको छ ।
राईका अनुसार सन् २०२५ को तुलनामा सन् २०२६ मा लुम्बिनी आउने पर्यटक करिब १२ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । मुलुकमा सबैभन्दा बढी पर्यटकले भ्रमण गर्ने गन्तव्यका रूपमा रहेको लुम्बिनीमा धार्मिक तथा आध्यात्मिक कार्यक्रमलाई निरन्तरता दिन सके पर्यटनको सम्भावना अझ विस्तार हुन सक्ने उनको विश्वास छ ।
बुद्धको जन्मस्थल हुनु मात्रै लुम्बिनीको पहिचान होइन, बुद्धले दिएको शान्ति, करुणा र सहअस्तित्वको सन्देश विश्वभर पु¥याउने साझा थलो पनि हो । पछिल्लो समय विभिन्न मुलुकका बौद्ध धर्मावलम्बीको बढ्दो उपस्थितिले लुम्बिनीको यही पहिचानलाई पुनः उजागर गरेको छ ।
अब यस्ता कार्यक्रमबाट सिर्जना भएको चहलपहललाई नियमित पर्यटकीय गतिविधिमा रूपान्तरण गर्दै पर्यटकको बसाइ र खर्च बढाउन सके लुम्बिनीको पर्यटनले नयाँ गति लिन सक्ने देखिन्छ ।