Butwal Today

सरकारी आग्रह बेवास्ता गर्दै खेतमै पराल जलाउँछन् किसान

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

नवलपरासी । सरकारी निकायले खेतमा पराल तथा अन्य कृषि अवशेष नजलाउन पटक–पटक आग्रह गर्दै आए पनि किसानले त्यसको बेवास्ता गर्दै खेतमै आगो लगाउने क्रम रोकिएको छैन । धान काटेपछि हिउँदे बाली लगाउन खेत सफा गर्ने क्रममा किसानले पराल जलाउँदा वायु प्रदूषण बढ्नुका साथै माटोको उर्वराशक्ति र जैविक विविधतामा समेत असर पर्न थालेको छ ।

पराल जलाउँदा निस्कने धुवाँले वायुमण्डल प्रदूषित बनाउनुका साथै माटोमा रहेका उपयोगी सूक्ष्म जीव, गड्यौला तथा अन्य जीवजन्तुलाई नष्ट गर्ने जोखिम हुन्छ । यसले माटोको प्राकृतिक गुण, जैविक सन्तुलन र दीर्घकालीन कृषि उत्पादनमा समेत नकारात्मक असर पार्न सक्छ। कृषि अवशेषको उचित व्यवस्थापन गर्न नसक्दा वातावरणीय प्रदूषणसँगै कृषिको उत्पादन प्रणालीसमेत प्रभावित हुने देखिएको छ ।

कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भु उपाध्यायले किसानले पराल जलाउनुको वास्तविक कारण पहिचान नगरी समस्या समाधान हुन नसक्ने बताए । किसानले अज्ञानताका कारण पराल जलाएका हुन् वा सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै यस्तो गरेका हुन् भन्ने विषय बुझ्नुपर्ने उनको भनाइ छ ।

“यदि जानकारीको अभावमा किसानले पराल जलाइरहेका हुन् भने स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले प्रभावकारी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । किसानको असन्तुष्टि वा आक्रोशका कारण यस्तो भएको हो भने त्यसको कारण पनि खोज्नुपर्छ,” उपाध्यायले भने ।

धान काटेपछि समयमै हिउँदे बाली लगाउन खेत खाली गर्नुपर्ने बाध्यता किसानसँग रहेको उल्लेख गर्दै उनले पराल व्यवस्थापनको विकल्प नदिई नजलाउन आग्रह गरेर मात्रै समस्या समाधान नहुने बताए। पराल संकलन तथा व्यवस्थापन गर्दा किसानको लागत बढ्ने भएकाले त्यसको व्यावहारिक विकल्प सरकारले उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । “धान काटेपछि हिउँदे बाली लगाउन खेत सफा गर्नुपर्छ । पराल व्यवस्थापन गर्दा किसानको लागत बढ्छ भने त्यसको विकल्प पनि सरकारले दिनुपर्छ,” उनले भने ।

पराललाई खेतमै जलाउनुको सट्टा संकलन गरेर पशु आहार, जैविक मल तथा अन्य प्रयोजनमा उपयोग गर्न सकिने सम्भावना छ । त्यसका लागि पराल संकलन तथा व्यवस्थापन गर्ने उपकरण र प्रविधि किसानको पहुँचमा पु¥याउन आवश्यक देखिएको छ। स्थानीय तह र कृषि ज्ञान केन्द्रले यस्ता उपकरणको प्रयोगबारे जानकारी दिनुका साथै आवश्यक सहुलियत र सहजीकरण गर्न सके पराल जलाउने प्रवृत्ति घटाउन सकिने सरोकारवालाको धारणा छ ।

वातावरण संरक्षणका लागि पराल नजलाउन किसानलाई सचेत गराउनु आवश्यक भए पनि उनीहरूका व्यावहारिक समस्या सम्बोधन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । खेतको प्रकृति, हिउँदे बाली लगाउने समय, पराल व्यवस्थापनको लागत र किसानको आर्थिक अवस्थालाई ध्यानमा राखेर विकल्प उपलब्ध गराउनुपर्ने देखिन्छ ।

पराल जलाउने प्रवृत्ति नियन्त्रणका लागि सरकारी सूचना र आग्रहमा मात्रै निर्भर नभई किसानलाई आवश्यक प्रविधि, उपकरण, प्रोत्साहन र वैकल्पिक उपयोगको व्यवस्था गर्नुपर्ने आवश्यकता छ । किसानलाई वातावरण संरक्षणको जिम्मेवारीबोध गराउँदै पराल व्यवस्थापनको व्यावहारिक विकल्प उपलब्ध गराउन सके मात्रै वायु प्रदूषण र कृषि जैविक विविधतामाथिको जोखिम न्यूनीकरण गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?