Butwal Today

भाषण होइन, संवादः गाउँ पुगे सांसद बनिया

२८ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

भैरहवा ।
चुनावका बेला मत माग्न गाउँबस्ती पुग्ने नेताहरूलाई जनताले चुनावपछि पनि खोजिरहेका हुन्छन् । तर नेताहरू भने चुनाव जितेपछि “गायब” हुने गरेको मतदाताहरूको आरोप रहेको हुन्छ । भोट माग्न घरदैलौमै आउने नेताहरू जितेपछि कुनै ठूलो औपचरिक कार्यक्रम बाहेक क्षेत्रमै पाइला नटेकेको मतदाताहरू अनुभव सुनाउछन् । तर, रूपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कन्हैया बनिया भने जनताका गुनासा र समस्या सुन्न गाउँबस्तीमै पुगिरहेका छन् । उनी स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारका सवालमा छलफल गरिरहेका छन् ।

ठूला सभा, औपचारिक भाषण र भव्य कार्यक्रम भन्दा जनतासँगको प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बताउने सांसद बनियाको क्षेत्र भ्रमणमा यसपटक पनि स्थानीयले आफ्ना अपेक्षा, असन्तुष्टि र विकासका आवश्यकता खुलेर राखे । सडक पूर्वाधारको अवस्था, अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव, स्वास्थ्य सेवाको कमजोर पहुँच, शैक्षिक गुणस्तर र किसानले भोग्नुपरेका समस्याले छलफलमा प्राथमिकता पाए ।

क्षेत्रका विभिन्न स्थानमा भएका भेटघाटमा स्थानीयले विकासका योजनालाई भाषणमा सीमित नराखी कार्यान्वयनमा लैजान आग्रह गरे । स्वास्थ्य संस्था र अस्पतालका भवन बने पनि आवश्यक चिकित्सक, औषधि र विशेषज्ञ सेवा नहुँदा सामान्य उपचारका लागि समेत बुटवल र भैरहवा धाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो थियो ।

सियारीमा भएको छलफलमा रास्वपा सियारीका सभापति रुद्र रानाभाट, वडा नम्बर ४ का सभापति कृष्णप्रसाद घिमिरे र क्षेत्रीय उपसभापति गणेश श्रेष्ठ लगायतले स्थानीय आवश्यकता र विकासका सम्भावनाबारे धारणा राखे । उनीहरूले जनताको आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा विकासका काम अघि बढाउनुपर्नेमा जोड दिए ।
छपियामा भने मत्स्य पर्यटनको सम्भावना, स्थानीय बजार व्यवस्थापन र आर्थिक गतिविधि विस्तारका विषय उठे । मत्स्य उत्पादनका लागि परिचित यस क्षेत्रलाई पर्यटनसँग जोड्न सके स्थानीय अर्थतन्त्रमा थप योगदान पुग्ने स्थानीयको अपेक्षा थियो ।

छलफलमा पवन जयसवालले विकासका काममा व्यक्ति विशेषलाई प्राथमिकता दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । सबै नागरिकलाई समान व्यवहार गर्दै आवश्यकता र प्राथमिकताका आधारमा योजना सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद बनियाले जनप्रतिनिधि जनताभन्दा माथि नभई उनीहरूप्रति जवाफदेही हुनुपर्ने बताए । जनताले आफ्ना समस्या राख्न र जनप्रतिनिधिसँग जवाफ माग्न पाउनुपर्ने उनको धारणा छ ।

“जनप्रतिनिधिले जनताका सवाल सुन्नुपर्छ र ती सवालको जवाफ पनि दिनुपर्छ । सवाल सुन्न सक्ने क्षमता पनि राख्नुपर्छ,” उनले भने, “नेतासँग जति कडा भएर बोल्न सकिन्छ, त्यति नै कडा भएर बोल्नुपर्छ । किनकि जनतासँग प्रश्न गर्ने अधिकार छ ।”

उनका अनुसार जनताले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र मतदान गरेका हुँदैनन् । उनीहरूले आफ्ना छोराछोरी, नातिनातिना र भावी पुस्ताको भविष्यसमेत हेरेर जनप्रतिनिधि चुनेका हुन्छन् । त्यसैले जनताले निर्वाचनमा दिएको मतलाई सामान्य राजनीतिक समर्थनका रूपमा मात्र लिन नहुने उनले बताए ।

“जनताले आफ्नो मात्र होइन, भावी पुस्ताको भविष्य सोचेर भोट दिएका हुन्छन् । त्यसैले उनीहरूले पूरा अधिकारका साथ प्रश्न गर्न पाउनुपर्छ । जनप्रतिनिधिको काम जनताको कुरा सुन्ने, समस्या समाधानका लागि प्रयास गर्ने र आफ्नो कामको मूल्यांकन गराउने हो,” बनियाले भने ।

आफूले व्यक्ति विशेषलाई प्राथमिकता दिएर काम नगरेको बताउँदै उनले जनताको आवश्यकता र सामूहिक हितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ठूला कार्यक्रम गरेर जनतामाझ पुग्नुभन्दा उनीहरूका कुरा सुन्ने र समस्या समाधानका लागि पहल गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ ।

बनियाका अनुसार पछिल्लो छ महिनाको अवधिमा उनी ४० पटकभन्दा बढी निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगिसकेका छन् । यसबिच मन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई समेत क्षेत्रमै ल्याएर स्थानीय समस्या र विकासका आवश्यकताबारे जानकारी गराइएको उनले बताए ।

क्षेत्र भ्रमणका क्रममा स्वास्थ्य सेवासम्बन्धी समस्या पनि प्रमुख रूपमा उठेको छ । सियारी गाउँपालिका वडा नम्बर ४ छपियाकी स्थानीय सोनम खरेलले अस्पतालका भवन निर्माण हुनु मात्रै पर्याप्त नहुने भन्दै आवश्यक विशेषज्ञ चिकित्सक, औषधि र उपचार सेवा उपलब्ध गराउन सांसदको ध्यानाकर्षण गराइन् ।

उनका अनुसार अस्पतालमा उपचारका लागि पुग्ने बिरामीले चिकित्सकबाट औषधि लेखाए पनि बाहिरबाट किन्नुपर्ने अवस्था छ । विशेषज्ञ सेवा नहुँदा सामान्य स्वास्थ्य समस्याका लागि समेत बुटवल र भैरहवा पुग्नुपर्ने बाध्यता छ ।

“यत्रो भवन बनेको छ, तर जनताले आवश्यक सेवा पाएका छैनन् । एउटा डाक्टर भएर मात्र हुँदैन, विशेषज्ञ चिकित्सकको व्यवस्था हुनुपर्छ,” उनले भनिन्, “विशेषगरी महिलासम्बन्धी रोगको उपचारका लागि स्त्रीरोग विशेषज्ञसहित आवश्यक चिकित्सक र स्वास्थ्य सेवा उपलब्ध हुनुपर्छ ।”

उनले अस्पताल भवनलाई औपचारिक संरचनाका रूपमा मात्र सीमित नराखी जनताको उपचारमा उपयोग गर्नुपर्ने बताइन् । स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधी र उपकरणको व्यवस्था गर्न सके स्थानीयले सहज रूपमा उपचार पाउने उनको भनाइ थियो ।

क्षेत्र भ्रमणमा कृषि क्षेत्रका समस्या पनि छुटेनन् । मायादेवी गाउँपालिका वडा नम्बर २ महदेवाका सुदामा धवलले किसानले उत्पादन र मलखादको व्यवस्थापनमा भोग्नुपरेका कठिनाइबारे ध्यानाकर्षण गराए ।

किसानलाई खेती सुरु गर्नुअघिदेखि नै आवश्यक मलखाद र अन्य कृषि सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्ने उनको माग थियो । किसानले उत्पादन गरेको धानको परिमाणअनुसार मल उपलब्ध गराउने भनिए पनि त्यसको वितरण प्रणाली र वास्तविक आवश्यकताबीच तालमेल हुन नसकेको उनले बताए । मलखाद वितरणमा कमिसन र अनियमितताको समस्या रहेको उल्लेख गर्दै उनले किसानलाई राहत दिने नाममा हुने यस्ता गतिविधि नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

छलफलका क्रममा महदेवाकै रामनिवास गुप्ताले क्षेत्रका बासिन्दाले लामो समयदेखि भोग्दै आएको नदी कटान, बाढी र डुबानको समस्याबारे सरकारको ध्यानाकर्षण गराए ।

उनले नदी तटबन्धको कमजोर अवस्थाका कारण बस्ती र कुटियासमेत जोखिममा परेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधान आवश्यक रहेको बताए ।
सांसद बनियाको क्षेत्र भ्रमणले स्थानीय तहमा वर्षौंदेखि उठ्दै आएका विकासका सवाललाई फेरि एकपटक सार्वजनिक बहसमा ल्याएको छ । सडक, अस्पताल, शिक्षा, कृषि र नदी नियन्त्रणजस्ता विषय कुनै एक गाउँ वा समुदायका मात्र समस्या होइनन् । यी क्षेत्रको समग्र विकास र नागरिकको जीवनस्तरसँग जोडिएका सवाल हुन् ।

बनियाले पनि क्षेत्र भ्रमणलाई समस्या पहिचान र समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने माध्यम बनाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?