© 2026
अर्घाखाँची ।
पाल्पामा स्थायी घर भएकी जमुना छोराको निधनपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्न थालेकी थिइन् । त्यसपछि उनको जीवनले सहज बाटो समात्न सकेन। करिब ३० वर्षदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग सङ्घर्ष गर्दै आएकी उनी अर्घाखाँचीको पाणिनी गाउँपालिका–३, खिदिममा बस्दै आएकी थिइन् ।
स्थानीय समाजसेवी मना केसी रायमाझीका अनुसार छोरा गुमाएपछि जमुनाको मानसिक अवस्था बिग्रँदै गएको थियो । जीवनका अनेकौँ कठिनाइबिच पनि उनले आफूलाई सकेसम्म आत्मनिर्भर बनाउने प्रयास भने छाडिनन् ।
एउटा आमाका लागि सन्तान गुमाउनुको पीडा कति असह्य हुन्छ, त्यो सायद त्यही आमाको मनले मात्र महसुस गर्न सक्छ । छोराको वियोगले मनमा गहिरो चोट बोकेकी ६० वर्षीय जमुना कुमाल (भुल्ली) को जीवन कथा पनि यस्तै पीडा, अभाव र सङ्घर्षले भरिएको छ ।
गाउँघरमा आफूले सकेको सहयोग गर्ने र अरूका घरमा सानातिना काम गरेर जीविकोपार्जन गर्ने उनको दैनिकी थियो । तर, उमेर बढ्दै जाँदा शारीरिक अवस्था कमजोर बन्दै गयो। केही समयअघि लडेर चोट लागेपछि उनी काम गर्नसमेत नसक्ने अवस्थामा पुगिन् ।
न आफ्नो गुजारा चलाउन सक्ने अवस्था रह्यो, न दैनिक जीवन सहज रूपमा बिताउन सक्ने । शारीरिक पीडा र मानसिक स्वास्थ्यसम्बन्धी समस्याले थलिएकी जमुना अरूको जीर्ण घरको बार्दलीमा आश्रय लिएर बस्न बाध्य थिइन् ।
नियमित उपचार, उचित हेरचाह र सुरक्षित बसोबासको अभावमा उनका दिनहरू झन् कष्टकर बन्दै गएका थिए । समाजका लागि उनी भुल्ली नामले परिचित भए पनि उनको आफ्नै पीडा, भावना र सम्मानपूर्वक बाँच्ने चाहना थियो । उनलाई आवश्यक थियो केवल सुरक्षित आश्रय, आत्मीय साथ र मानवीय व्यवहार ।
उनको दयनीय अवस्थाबारे स्थानीयवासीले जानकारी गराएपछि पाणिनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीले उद्धारका लागि पहल गरेका थिए । उनीहरूको समन्वयमा गत कात्तिक १७ गते जमुनाको उद्धार गरी रुपन्देहीको मानव सेवा आश्रम तिलोत्तमा शाखामा पु¥याइएको गाउँपालिकाका उपाध्यक्ष नर्मदा गौतमले बताइन् ।
मानव सेवा आश्रमले जमुनाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचार, हेरचाह र संरक्षण प्रदान गर्ने जनाएको छ । आश्रमकी केन्द्रीय सदस्य सरु अधिकारीका अनुसार उनको अवस्थाअनुसार आवश्यक सेवा उपलब्ध गराइनेछ ।
तीन दशकसम्म पीडा, अभाव र असहज परिस्थितिबिच जीवन बिताएकी जमुनाका लागि मानव सेवा आश्रमको संरक्षण नयाँ आशाको सुरुवात बनेको छ । अब उनले जीर्ण घरको बार्दलीमा असुरक्षित जीवन बिताउनुपर्ने छैन । बरु उचित हेरचाह, उपचार र आत्मीय वातावरणमा जीवन बिताउने अवसर पाउने अपेक्षा गरिएको छ ।
जीवनमा सन्तान गुमाउनुको पीडा त फर्केर आउँदैन । बितेका वर्षहरूको सङ्घर्ष पनि मेटिँदैन । तर, जीवनको उत्तरार्धमा जमुनाले पाएको सुरक्षित आश्रयले एउटा सन्देश दिएको छ—समाजमा सहारा नपाएका मानिसका लागि मानवीय सहयोग नै सबैभन्दा ठुलो सेवा हो ।
कहिलेकाहीँ कसैको जीवनमा नयाँ आशा जगाउन ठुलो धन सम्पत्ति होइन, एउटा सहयोगी हात र थोरै आत्मीयता नै पर्याप्त हुन्छ ।