Butwal Today

सुन्तला बेचेर ५२ लाख आम्दानी

२० कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

रोल्पा ।
मेहनत र निरन्तर परिश्रम गरे गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् रोल्पा नगरपालिका–४ गुरुङ गाउँकी लक्ष्मी विष्ट । विगत २५ वर्षदेखि सुन्तला खेती र बिक्रीलाई आम्दानीको मुख्य स्रोत बनाएकी ४६ वर्षीया विष्टले यही व्यवसायबाट ५२ लाख रूपैयाँभन्दा बढी आम्दानी गरिसकेकी छन् ।

तिहार नजिकिँदै गर्दा उनी अहिले रोल्पाको सदरमुकाम लिबाङस्थित टुँडिखेल छेउमा बिहानदेखि साँझसम्म सुन्तला बिक्रीमा व्यस्त छिन् । दैनिक करिब ३६ किलो सुन्तला बिक्री गर्दा तीन हजार छ सय रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनी बताउँछिन् । बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म घामपानी नभनी सुन्तला बिक्रीमा खटिने उनको दैनिकी वर्षौंदेखि यसरी नै बितिरहेको छ ।

विष्टका लागि सुन्तला बिक्री केवल जीविकोपार्जनको माध्यम मात्र बनेको छैन, परिवारको आर्थिक अवस्था बदल्ने आधारसमेत बनेको छ । यही व्यवसायबाट भएको आम्दानीले घर निर्माण, छोराछोरीको पढाइ, घरखर्च र चाडपर्वका आवश्यकता पूरा गर्न सहज भएको उनी बताउँछिन् ।

‘सुन्तला बेचेरै घर बनायौँ । पहिले सामान्य खोरजस्तो घर थियो, अहिले ढुङ्गाले छाएको घरलाई प्लास्टर गरेर रंगरोगनसमेत गरेका छौँ,’ उनले भनिन् ।
उनका अनुसार २०५७ सालदेखि २०८२ सालसम्मको अवधिमा सुन्तला बिक्रीबाट ५२ लाख रूपैयाँभन्दा बढी आम्दानी भएको छ । उत्पादन राम्रो भएको वर्षमा दुई लाख रूपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनको अनुभव छ । सुन्तला खेतीबाट भएको आम्दानीले पहिले आर्थिक अभावका कारण पूरा गर्न नसकिने घरायसी आवश्यकता अहिले सहजै पूरा गर्न सकिएको उनी बताउँछिन् ।

सुन्तला बिक्रीबाट प्राप्त आम्दानीले तिहारलगायतका चाडपर्वमा घरखर्च चलाउन र चेलीबेटीलाई दानदक्षिणा दिनसमेत सहज भएको छ । श्रीमान् मनबहादुर विष्टको साथ र सहयोगले कृषि व्यवसायलाई निरन्तरता दिन सकेको उनको भनाइ छ । ६० वर्षीय मनबहादुर पनि अहिले कृषि कर्ममै सक्रिय छन् । वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँमा कृषि व्यवसाय गरेर आत्मनिर्भर बन्ने सोचले आफूहरूलाई यस क्षेत्रमा टिकाएको विष्ट बताउँछिन् ।

सुन्तला खेतीसँगै उनीहरूको परिवारले बाख्रापालन, भैँसीपालनलगायतका कृषि व्यवसायसमेत गर्दै आएको छ । गाउँमै बसेर मेहनत गर्न सके परिवारको आर्थिक अवस्था सुधार्न सकिने उनको अनुभव छ ।

तर, आर्थिक अवस्था सुधारिए पनि छोराछोरीको शिक्षामा भने आफूले सोचेअनुसार सफलता हासिल गर्न नसकेको उनको गुनासो छ । छोराहरूले पढाइलाई निरन्तरता दिन नसकेको र साथीहरूको लहैलहैमा लागेर विद्यालय छाडेको उनले बताइन् । छोरी भने अहिले दाङमा स्नातक तह अध्ययनरत छन् । विगतमा सामाजिक परम्परा, विवाह तथा अन्य व्यवहारका लागि रकम जुटाउनुपर्ने बाध्यताले पनि परिवारमा आर्थिक दबाब थपिने गरेको उनले सुनाइन् ।

विष्टको सुन्तला बारीमा अहिले १५० भन्दा बढी बोट छन् । कार्तिकदेखि चैतसम्म सुन्तला बिक्री हुने भए पनि फलमा लाग्ने रोगका कारण अपेक्षित आम्दानी लिन नसकेको उनी बताउँछिन् ।
फल पाक्ने समय नजिकिँदै गर्दा पहेँलो भएर झर्ने, कुहिने र बोटबाटै नष्ट हुने समस्या बढेको उनको भनाइ छ । फललाई पाक्ने समयसम्म बोटमै टिकाउन नसक्दा कतिपय अवस्थामा हरियै सुन्तला बिक्री गर्नुपर्ने बाध्यता छ । रोगका कारण एकै सिजनमा एक लाख रूपैयाँभन्दा बढी नोक्सानीसमेत व्यहोर्नुपरेको उनले बताइन् ।

‘सुन्तला पहेँलो भएपछि बोटबाट झर्ने र कुहिने समस्या छ । रोग नियन्त्रण गर्ने औषधि र प्राविधिक सल्लाह पाए फल राम्रोसँग पाक्ने र आम्दानी पनि बढ्ने थियो,’ उनले भनिन् ।

रोल्पा नगरपालिका र सुनिल स्मृति गाउँपालिकाको टेबाङ क्षेत्रका कृषकले उत्पादन गरेका सुन्तला अहिले लिबाङ, सुलीचौर, घर्तीगाउँ र होलेरीलगायतका बजारमा बिक्री हुने गरेका छन् । स्थानीय बजारमा सुन्तला बिक्री गर्ने कृषकको चहलपहल बढे पनि रोग तथा फल झर्ने समस्याले उत्पादन र आम्दानी प्रभावित भइरहेको छ ।

लिबाङ बजारमा स्थानीय सुन्तलाको मागसमेत राम्रो रहेको उपभोक्ता बताउँछन् । रोल्पा नगरपालिका–४ का स्थानीय मनबहादुर नेपालीका अनुसार सदरमुकाममा सरकारी काम, विभिन्न प्रतियोगिता तथा कार्यक्रमका लागि आउने मानिसले टुँडिखेल आसपास बिक्री भइरहेका स्थानीय सुन्तला सहजै खरिद गर्न पाउँछन् । स्थानीय उत्पादन स्वादिलो र तुलनात्मक रूपमा सस्तो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?