© 2026
चन्द्रौटा ।
बरघरका केन्द्रीय सदस्य आशाराम थारुले अट्वारी पर्वले सद्भाव कायम गर्ने बताएका छन् । शिवराज बरघर नगर समितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पर्वले परिवार, आफन्त र समुदायलाई एकै ठाउँमा जोड्दै सामाजिक सम्बन्धलाई थप बलियो बनाउने उनले उल्लेख गरे । अट्वारी हाम्रो संस्कार, संस्कृति र पहिचानसँग जोडिएको पर्व हो,” उनले भने, “यसले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ मजबुत बनाउँछ ।” थारुले अट्वारी थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको महत्त्वपूर्ण पर्व भएको बताए ।
यसैबिच शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले थारु जाति आफ्नो पहिचान बचाउन ऐक्यबद्ध हुन जरुरी रहेको बत्ताइन् । उनले चाडपर्वको बेला मात्रै नभएर सदैव अग्रसर भएर भेष भूषासहित भाषा संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले पछिल्लो पुस्तामा मौलिक संस्कृति र परम्पराप्रति चासो घट्दै गएको भन्दै यस्ता पर्वको संरक्षणमा समुदायको भूमिका महत्त्वपूर्ण हुने बताए । उनीहरूले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, संस्कृति र परम्पराबारे जानकारी गराउँदै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
शिवराज नगरपालिकाका ४५ गाउँका बरघर (अगुवा) हरू शनिवार भएको कार्यक्रममा थारु कल्यणकारिणी सभा शिवराज नगर समिति संरक्षक रहेको छ ।
शिवराज नगरपालिका-२ र ९ का अध्यक्ष राम बहादुर चौधरी, रामगोपाल थारु, थाकस शिवराज नगर सभापति प्रकाश चौधरीलगायतले सम्बोधन गरेका थिए ।



