© 2026
नेपाल । तिब्बत सीमाक्षेत्रको भोटेकोशी क्षेत्रमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढी सामान्य प्रकृतिको नभएको वैज्ञानिकहरूको प्रारम्भिक विश्लेषणले देखाएको छ। विज्ञहरूका अनुसार उच्च हिमाली क्षेत्रमा ठूलो मात्रामा बरफ र चट्टान खस्दा उत्पन्न भएको ऊर्जाको मात्रा हिरोशिमामा प्रयोग गरिएको परमाणु बमको ऊर्जाभन्दा समेत बढी हुन सक्ने देखिएको छ।
त्रिभुवन विश्वविद्यालयको विपद् अध्ययन केन्द्रका निर्देशक तथा हिमाली भू–जोखिम विशेषज्ञ बसन्तराज अधिकारीले आफूले अध्ययन गरेको हिमालय क्षेत्रमै यो सबैभन्दा ठूलो बाढीजन्य घटना भएको बताएका छन्। उनका अनुसार घटनाको आकार, प्रभावित क्षेत्र र बाढी उत्पन्न हुने प्रक्रिया सबै दृष्टिले यो असाधारण थियो। अगस्ट २६ बिहान करिब ८ः४० बजे नेपाल–तिब्बत सीमाक्षेत्र हुँदै बग्ने ल्हेन्दे खोलाको प्रणालीमा बरफ, चट्टान र अन्य सामग्रीसहितको तीव्र बहाव प्रवेश गरेको थियो। त्यसपछि उक्त बहाव भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीतर्फ फैलिँदा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थियो।
हिमालबाट खस्यो बरफ र चट्टानको विशाल थुप्रो
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विज्ञ दिवश श्रेष्ठका अनुसार लाङटाङ क्षेत्रको लिरुङ हिमालको उत्तरी ढलानमा रहेको ठूलो झुन्डिएको हिमनदीको एक भाग खसेपछि बाढी सुरु भएको देखिन्छ। प्रारम्भिक विश्लेषणअनुसार हिमनदीको उक्त भाग करिब १ हजार ४ सय मिटर तल ठाडो रूपमा खसेको थियो। बरफ र चट्टानको ठूलो मात्रा तल खस्दै नदीमा मिसिएपछि पानी, लेदो र ढुंगासहितको अत्यन्त तीव्र र विनाशकारी बहाव सिर्जना भएको वैज्ञानिकहरूको भनाइ छ।तर हिमनदीको उक्त भाग किन खस्यो भन्ने विषयमा भने अझै निश्चित निष्कर्षमा पुगिएको छैन। हिमनदीको आधारमा असामान्य तापक्रम वृद्धि, ठूलो मात्रामा नयाँ हिउँ जम्मा हुनु वा सतहबाट पग्लिएको पानी हिमनदीभित्र प्रवेश गरी तल्लो भागमा अस्थिरता सिर्जना गर्नु सम्भावित कारण हुन सक्ने श्रेष्ठको भनाइ छ।
‘हिरोशिमा बमभन्दा बढी ऊर्जा’
भू–जोखिम विशेषज्ञ अधिकारीका अनुसार घटनाको ऊर्जा गणना गर्दा आफूले अपेक्षा गरेभन्दा निकै ठूलो परिणाम प्राप्त भएको थियो। ठूलो मात्रामा बरफ र चट्टान उच्च स्थानबाट तल खस्दा उत्पन्न भएको ऊर्जाको मात्रा हिरोशिमामा खसालिएको परमाणु बमको ऊर्जाभन्दा बढी रहेको उनको गणना छ। हिमालयमा आफ्नो अनुसन्धान करियरका क्रममा यति ठूलो बाढीजन्य घटना आफूले नदेखेको अधिकारीले बताएका छन्। नेपालमा यसअघि मुख्यतः हिमताल फुटेर आउने बाढीको जोखिमबारे अध्ययन हुँदै आएको थियो। तर यसपटकको घटना ठूलो हिमनदी र चट्टानको भाग खस्ने प्रक्रियाबाट सुरु भएको देखिएकाले यसको प्रकृति फरक र अप्रत्याशित रहेको वैज्ञानिकहरूको निष्कर्ष छ।
सुरुमा भूकम्प ठानियो
बाढीपछि रेकर्ड भएको भूकम्पीय संकेतले वैज्ञानिकहरूलाई समेत सुरुमा अन्योलमा पारेको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणका उपकरणले ५.२ म्याग्निच्युडको भूकम्पजस्तो संकेत रेकर्ड गरेका थिए। तर पछि भूकम्पीय रेकर्ड तथा भू–उपग्रहबाट प्राप्त विवरणको विश्लेषण गर्दा उक्त कम्पन हिमनदी खस्ने र त्यसपछि उत्पन्न भएको डेब्री फ्लो चट्टान, बरफ, माटो र पानीको तीव्र बहाव सँग सम्बन्धित रहेको देखिएको बताइएको छ। क्यानडाको युनिभर्सिटी अफ क्यालगरीका भू–आकृतिविज्ञ ड्यान सुगरले पनि घटनालगत्तै हिमनदीको भागसँगै ठूलो चट्टानी पहिरो समेत संलग्न भएको हुन सक्ने सम्भावना औँल्याएका थिए।
जलवायु परिवर्तनसँग जोडिएको जोखिम
काठमाडौँ विश्वविद्यालयका वातावरण विज्ञान विभागका प्रमुख रिजन भक्तका अनुसार घटनाको अन्तिम वैज्ञानिक कारण पुष्टि गर्न थप प्रमाण आवश्यक भए पनि यसको असामान्य स्वरूप जलवायु परिवर्तनसँग सम्बन्धित हुन सक्ने देखिन्छ। त्यस क्षेत्रमा मनसुन रहे पनि अत्यधिक वर्षा नभएको तर हिमाली क्षेत्रमा तापक्रम असामान्य रूपमा उच्च रहेको उनको भनाइ छ। उच्च तापक्रमका कारण बरफ पग्लिने क्रम बढ्दा हिमनदीसँगै ठूलो मात्रामा चट्टान तल खस्न सक्ने र त्यसले नदीमा अस्थायी अवरोध सिर्जना गरी पछि अत्यन्त तीव्र बहाव उत्पन्न गर्न सक्ने वैज्ञानिकहरूको तर्क छ।
यो घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै बढ्दो प्राकृतिक जोखिम, हिमनदीको अस्थिरता र त्यसबाट उत्पन्न हुन सक्ने आकस्मिक बाढीबारे थप गम्भीर अध्ययन तथा पूर्वतयारी आवश्यक रहेको स्पष्ट संकेत गरेको छ। भोटेकोशीमा आएको यो विपत्ति एउटा बाढीको घटना मात्र नभई हिमनदी, चट्टान, नदी प्रणाली र बदलिँदो हिमाली वातावरणबीचको जटिल सम्बन्धले निम्त्याउन सक्ने नयाँ प्रकृतिको जोखिमको गम्भीर चेतावनी का रूपमा वैज्ञानिकहरूले हेर्न थालेका छन्।