© 2026
आजको समयमा मोबाइल र इन्टरनेट बालबालिकाको जीवनको अभिन्न हिस्सा बनेका छन् । पढाई, मनोरञ्जन, साथीभाइसँग कुराकानीदेखि नयाँ कुरा सिक्नेसम्म मोबाइल उपयोगी छ । तर, यही मोबाइल र इन्टरनेटको गलत प्रयोगबाट बालबालिकाले आफ्नो उमेरका लागि उपयुक्त नभएका सामग्री पनि सजिलै हेर्न सक्छन् ।
त्यसमध्ये पोर्नोग्राफी अर्थात् अश्लील/यौन सामग्री पनि एउटा महत्वपूर्ण विषय हो । यो विषयमा कुरा गर्दा बालबालिकालाई डराउने, लाज लगाउने वा दोषी बनाउने होइन; सही र गलत छुट्याउन सक्ने ज्ञान र आत्मनियन्त्रण सिकाउनु हाम्रो उद्देश्य हुनुपर्छ ।
पोर्नोग्राफी भनेको के हो?
सरल भाषामा भन्नुपर्दा मानिसको शरीर वा यौन व्यवहारलाई उत्तेजना पैदा गर्ने उद्देश्यले प्रस्तुत गरिएको सामग्रीलाई पोर्नोग्राफी भनिन्छ । यस्तो सामग्री भिडियो, फोटो, वेबसाइट, सामाजिक सञ्जाल, विज्ञापन वा विभिन्न एपमार्फत बालबालिकासम्म पुग्न सक्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने—इन्टरनेटमा देखिएको सबै कुरा वास्तविक जीवनको सही तस्वीर हुँदैन । बालबालिकाले फिल्म वा भिडियोमा देखेको कुरा वास्तविक प्रेम, सम्बन्ध वा यौन व्यवहार हो भनेर बुझ्न सक्छन् । यही ठाउँमा भ्रम सुरु हुन्छ ।
“मैले हेरेँ भने के हुन्छ ?” कहिलेकाहीँ बालबालिकाले जिज्ञासाका कारण यस्तो सामग्रीमा क्लिक गर्न सक्छन् ।
साथीले पठाउन सक्छ, सामाजिक सञ्जालमा अचानक आउन सक्छ वा गलत वेबसाइटमा पुग्दा देखिन सक्छ । कुनै कुरा अचानक देखिनु मात्रले बच्चा खराब हुँदैन । तर, बारम्बार खोजेर हेर्ने, लुकाएर हेर्ने, पढाइ वा निद्रा छोडेर हेर्ने र त्यसलाई नियन्त्रण गर्न नसक्ने अवस्था समस्या बन्न सक्छ ।
यसले दिमागमा त्यस्तो सामग्रीप्रतिको आकर्षण बढाउन सक्छ र सामान्य काममा ध्यान दिन कठिन बनाउन सक्छ । कतिपय बालबालिकामा अपराधबोध, लाज, डर वा आफूलाई नियन्त्रण गर्न नसकेको महसुस पनि हुन सक्छ । सबैभन्दा ठूलो समस्या—गलत धारणा पोर्नोग्राफी हेर्दा बालबालिकाले प्रेम र वास्तविक सम्बन्धबारे गलत धारणा बनाउन सक्छन् ।
उनीहरूलाई लाग्न सक्छ— “प्रेम भनेको यस्तै हुन्छ ।” “सम्बन्धमा यस्तो व्यवहार सामान्य हो ।” “अर्को व्यक्तिको शरीरसँग यस्तो व्यवहार गर्न मिल्छ ।” तर वास्तविक स्वस्थ सम्बन्ध विश्वास, सम्मान, सहमति, जिम्मेवारी र सीमाको सम्मानमा आधारित हुन्छ । भिडियोमा देखाइएको कुरा वास्तविक जीवनको सम्बन्धको पाठ्यपुस्तक होइन । “मेरो शरीर र अरूको शरीरबारे पनि मेरो जिम्मेवारी छ” । बालबालिकाले एउटा महत्वपूर्ण कुरा बुझ्नुपर्छ—कसैको शरीर उसको आफ्नै हो ।
कसैलाई उसको इच्छा विपरीत छुनु, फोटो माग्नु, निजी फोटो पठाउन दबाब दिनु, साथीको निजी फोटो अरूलाई पठाउनु वा त्यसलाई लिएर धम्की दिनु गलत हो । त्यसैले कसैले यस्तो कुरा मागेमाः “ल्य भन्न पाइन्छ ।” “असहज लाग्यो भने टाढा हुन पाइन्छ ।” “विश्वासिलो ठूलो मान्छेलाई भन्न पाइन्छ ।” र, सबैभन्दा महत्वपूर्ण—आफ्नो निजी फोटो वा भिडियो कसैलाई नपठाउनु ।
पोर्नोग्राफी र अपरिपक्व सम्बन्धहरू बीचको सम्बन्धः
१२–१५ वर्षको उमेरमा बालबालिकामा आकर्षण र प्रेमको भावना आउन सक्छ । यो उमेरमा भावना आउनु अस्वाभाविक होइन । तर पोर्नोग्राफीले प्रेम र यौन सम्बन्धबारे अवास्तविक अपेक्षा निर्माण ग¥यो भने अपरिपक्व सम्बन्धमा समस्या थपिन सक्छ । उदाहरणका लागि, कसैले आफ्नो केटा साथी वा केटी साथीलाई “यदि माया गर्छौ भने यस्तो फोटो पठाऊ” भनेर दबाब दिन सक्छ ।
यो प्रेम होइन, दबाब हो । कसैले निजी फोटो पठाउन बाध्य बनाउँछ भने त्यसलाई लुकाएर बस्नु हुँदैन । अभिभावक, शिक्षक, परामर्शदाता वा विश्वासिलो व्यक्तिलाई तुरुन्त भन्नुपर्छ ।
अभिभावकले गाली गर्ने कि कुरा गर्ने ?
बच्चाले पोर्नोग्राफी हेरेको थाहा पाएपछि धेरै अभिभावकको पहिलो प्रतिक्रिया हुन्छ— “तँ बिग्रिस !” “यस्तो कुरा कसरी हेर्न सक्छस ?” “अब मोबाइल नै चलाउन पाउँदैनस” तर केवल गाली र डरले बच्चा समस्या समाधान गर्न सिक्दैन ।
बरु उसले कुरा लुकाउन सक्छ । त्यसैले अभिभावकले भन्न सक्छनः “तिमीले देखेको कुरा तिम्रो उमेरका लागि उपयुक्त छैन । तर, तिमीले जिज्ञासाले हेरेको भए पनि म तिमीलाई गाली गर्दिनँ । आउ, यसबारे सही कुरा बुझौँ ।”यस्तो संवादले बच्चालाई सत्य कुरा भन्न सुरक्षित महसुस गराउँछ ।
विद्यालयमा सचेतना किन आवश्यक छ ?
म विभिन्न विद्यालयहरूमा सहजकर्ताको भूमिकामा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै जाँदा विद्यार्थीहरूले आफ्ना प्रश्न, जिज्ञासा र अनुभवहरूबाट पोर्नोग्राफी सम्बन्धी सचेतना र सही जानकारीको आवश्यकता आफैँ महसुस गरेको देखिन्छ ।
यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ—बालबालिकालाई जानकारी नदिएर यो विषय हराउँदैन ।
उनीहरूले जानकारी कतै न कतैबाट पाउँछन् । प्रश्न यो होः उनीहरूले सही जानकारी हामीबाट पाउँछन् कि इन्टरनेटबाट ? त्यसैले विद्यालयमा उमेर अनुसारको डिजिटल सुरक्षा, स्वास्थ्य सम्बन्ध, शारीरिक सिमा, चासो र पोर्नोग्राफी सचेतना सम्बन्धी शिक्षा आवश्यक हुँदै गएको छ ।
यस्तो कार्यक्रमको उद्देश्य बालबालिकालाई यौन विषयमा अनावश्यक जिज्ञासा बढाउनु होइन; बरु गलत सामग्रीबाट आफूलाई जोगाउने, गलत कुरा पहिचान गर्ने र समस्या पर्दा सहयोग माग्ने क्षमता विकास गर्नु हो ।
बालबालिकाका लागि पाँचवटा सरल नियम
१. अन्जान वा उमेरअनुसार उपयुक्त नभएको सामग्री नखोलौँ ।
२. निजी फोटो वा भिडियो कसैलाई नपठाऔँ ।
३. कसैले दबाब दियो भने “ल्इ” भनौँ ।
४. असहज सामग्री देखियो भने तुरुन्त बन्द गरौँ र विश्वासिलो ठूलो मान्छेलाई भनौँ ।
५. इन्टरनेटमा देखेको कुरा वास्तविक जीवनको सत्य हो भनेर विश्वास नगरौँ ।
अतः हामीले बालबालिकालाई पोर्नोग्राफीबाट केवल “टाढा बस” भनेर मात्र पुग्दैन । उनीहरूलाई किन टाढा बस्ने, त्यसले कसरी भ्रम सिर्जना गर्न सक्छ, गलत सामग्री देख्दा के गर्ने र समस्या पर्दा कसलाई भन्ने भन्ने पनि सिकाउनुपर्छ । आजको बालबालिकालाई मोबाइलबाट अलग राख्नु मात्र समाधान होइन ।
मोबाइल कसरी सुरक्षित रूपमा प्रयोग गर्ने भन्ने सिकाउनु समाधान हो । बालबालिकाको जिज्ञासालाई अपराध नबनाऔँ; त्यसलाई सही ज्ञानमा बदलौँ । किनकि बच्चाले प्रश्न सोध्न नपाउने वातावरण बनायौँ भने उसले उत्तर इन्टरनेटमा खोज्नेछ । तर, हामीले सही समयमा सही कुरा बुझायौँ भने उसले गलत ठाउँमा सही उत्तर खोज्नुपर्ने अवस्था पर्दैन । हाम्रो उद्देश्य पोर्नोग्राफी बारे डर पैदा गर्नु होइन—सचेतना पैदा गर्नु हो । “जिज्ञासा स्वाभाविक हो, तर सही जानकारी र सुरक्षित व्यवहार हाम्रो जिम्मेवारी हो ।”