Butwal Today

पहिरो प्रभावितलाई तत्काल राहत देऊ 

२ भाद्र २०८३, मंगलवार
अ+
अ-

लुम्बिनी प्रदेशका विभिन्न जिल्ला केही दिनयता परेको भारी वर्षाका कारण ठुलो मानवीय क्षति भएको छ । प्राकृतिक प्रकोपका कारण रोल्पामा पछिल्लो चार दिनमा १९ जनाको दुःखद मृत्यु भएको छ ।

वर्षा नरोकिएपछि जिल्लाका ग्रामीण बस्ती तथा सडकहरू पहिरोको उच्च जोखिममा छन् । निरन्तरको वर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरो, बाढी तथा चट्याङका घटना भइरहेका छन् । यसअघि थबाङ गाउँपालिका–५ उवा, कोटलबारामा बुधबार राति गएको पहिरोले ठुलो मानवीय क्षति गरेको थियो ।

बस्तीमाथिबाट आएको पहिरोले १२ वटा घर पुरिँदा १३ जनाको मृत्यु भएको थियो । त्यसै गरी सुनछहरी गाउँपालिका–२ फलबाङ र गिच्चे मङ्ङारुका छुट्टाछुट्टै स्थानमा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको थियो । लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण सडकमा पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रमसमेत बढेको छ ।

कतिपय बस्तीमा पहिरो खस्ने क्रम नरोकिएकाले स्थानीय बासिन्दा थप जोखिममा परेका छन् । सम्भावित विपत्बाट जोगिन जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा स्थानान्तरण हुन स्थानीय प्रशासनले सार्वजनिक अपिलसमेत गरेको छ । रोल्पासँगै विभिन्न जिल्लामा ठुलो भौतिक क्षति भएको छ ।

तराईमा भन्दा पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान लगायतका जिल्लामा भौतिक क्षति हुँदा कैयौं परिवार घरबारविहीनताको अवस्थामा पुगेका छन् । पछिल्लोपटक विगत तीन दिनदेखिको भारी वर्षाका कारण गुल्मी र अर्घाखाँचीमा तीन घर परिवार विस्थापित भएका छन् । पहिरो र बाढीका कारण मानवीयसंगै लाखौं बराबरको भौतिक क्षति भएको छ ।

गुल्मीमा घर नै पहिरोमा बगेको कारण चार परिवारको बिचल्ली भएको छ । पहाडमा पहिरो र तराईमा बाढी अनि डुवान प्रत्येक वर्ष नेपालीहरूका लागि कहर वनेर आउने गरेको छ । यो वर्षमात्रै पहाडमा पहिरोमा परेर धेरै नेपालीको मृत्यु भएको छ ।

दर्जनौं व्यक्ति घाइते भएका छन् । करोडौँ सम्पत्तिको क्षति भएको छ । तराईको तुलनामा पहाडमा प्राकृतिक प्रकोपको ठुलो जोखिम छ । त्यही अवस्था तराईमा पनि छ । तर, तराईमा पहाडको तुलनामा जोखिम भने कम छ । तराईमा डुबान र बाढीको समस्या भने वर्षौँदेखि नै यथावत् छ । नदी किनारको तटीय क्षेत्रमा बस्नेहरू बाढीको जोखिममा परेका छन् ।

उता वर्षा सुरु हुनासाथ उत्तरतिर आँखा लगाउँदै बाढीको प्रतीक्षामा बस्नुपर्ने बाध्यता तटीय क्षेत्रका जनताका लागि पीडाको विषय बन्दै आएको छ । तराईका धेरै बस्तीहरू नदी किनारको बस्ती सुरक्षित बनाउनेतर्फ आवश्यक गृहकार्य नहुँदा वर्षा याममा धेरै क्षति व्योहोर्नु परिरहेको छ । बाढी आउँदा त्यसले पार्ने क्षति बिस्तारै बढ्दै गएको छ । तराईका जिल्लामा बाढीको जोखिम बढ्दै गएको छ । नदी किनारका बस्तीहरू बाढीको जोखिममा छन् ।

त्यसमाथि अव्यवस्थित बस्तीका कारण समस्या उत्पन्न भइरहेको छ । अव्यवस्थित वस्तीले विभिन्न संकटहरू निम्तिएको छ । अवको दिनमा संभावित जोखिमवाट वच्नेतर्फ समयमै सचेतना अपनाउनु पर्ने आवश्यकता छ । मूख्यगरि रोल्पामा पहिरोमा परेर १९ जनाको मृत्यु भैसकेकोले प्रभावित परिवारलाई संघीय र प्रदेश सरकारले राहत दिनु जरुरी छ ।

यो वर्ष पहाडी जिल्लामा पहिरोले बितण्डा नै मच्चाएकोले सरकारले दिर्घकालीन रूपमा पहिरो रोकथाममा ध्यान दिनुपर्ने खाँचो छ । अझैपनि भारी वर्षाको जोखिम रहेकोले रोल्पाको जोखिम क्षेत्रका बासिन्दालाई अन्यत्र सार्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् । रोल्पा पहिरो प्रभावित परिवारलाई राहत र उद्धारको खाँचो छ ।

यो बिषयमा सरकारले तत्काल पहल गरोस् । नेपाली जनता हरेक बर्ष प्राकृतिक प्रकोपमा परेर पीडामा बस्नु परिरहेको अवस्थामा अहिलेको भारी बर्षाको प्रभावबाट जोगिनेतर्फ प्रभावित क्षेत्रका जनता सचेत बन्नु जरूरी छ । अव ढिलो नगरि पहिरोमा ज्यान गुमाएका परिवार र विस्थापितहरूलाई तत्काल राहत र पुनस्र्थापनाको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?