© 2026
गुल्मी । एसियाकै ठुलो शिला शालिग्रामका रूपमा चिनिने सेतीवेणीस्थित शिला शालिग्राम बर्सेनि काली गण्डकी नदी र सेती खोलाको डुबानको चपेटामा पर्दै आएको छ ।
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो सम्पदा तीन वर्षयता वर्षा याममा डुबानमा पर्दै आए पनि यसको दीर्घकालीन संरक्षणका लागि सरोकारवाला निकायले ठोस पहल गर्न नसकेको स्थानीयको गुनासो छ ।
गुल्मी, स्याङ्जा र पर्वतको सङ्गमस्थल सेतीवेणीमा रहेको शिला शालिग्रामको आसपास सेती खोलाले धार परिवर्तन गरेर बग्न थालेपछि डुबानको जोखिम थप बढेको हो । वर्षा याममा काली गण्डकीको बहाव बढ्ने र त्यसमाथि सेती खोलाको पानी शिला शालिग्रामतर्फ सोझिएपछि यहाँ पुग्ने दर्शनार्थीले नजिकैबाट दर्शन गर्नसमेत कठिनाइ भोग्दै आएका छन् ।
पहिले शिला शालिग्रामसम्म पुगेर छोएरै दर्शन गर्न सकिने अवस्था रहे पनि अहिले आसपासको क्षेत्रमा खोला बग्ने भएकाले टाढैबाट दर्शन गरेर फर्किनुपर्ने अवस्था आएको दर्शनार्थी बताउँछन् ।
शिला शालिग्राम दर्शनका लागि पुगेका ओमप्रकाश थापाले पहिलेको तुलनामा अहिले अवस्था निकै असहज बनेको बताए । आफूले पहिले शिला शालिग्राम छोएर दर्शन गर्ने गरेको स्मरण गर्दै उनले अहिले शिलासम्म जाने बाटोमै खोला बगेका कारण टाढैबाट दर्शन गरेर फर्किनुपरेको बताए ।
स्याङ्जाबाट दर्शनका लागि पुगेका रामप्रसाद न्यौपानेले पनि शिला शालिग्रामको संरक्षणमा पर्याप्त ध्यान नदिइएको गुनासो गरे । योजना बनाएर दर्शन गर्न आएको भए पनि नजिकै पुगेर दर्शन गर्न नपाएको उनले बताए । सेती खोलाले पहिलेको तुलनामा धार परिवर्तन गरेर बग्न थालेपछि समस्या थपिएको उनको भनाइ छ ।
शिला शालिग्राम तीन जिल्लाको सीमामा रहेकाले यसको संरक्षणमा गुल्मीको काली गण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका र स्याङ्जाको गल्याङ नगरपालिकाले चासो देखाउँदै आएका छन् । तर ठुलो संरचना निर्माण तथा नदी नियन्त्रणका लागि आवश्यक पर्ने बजेट स्थानीय तहको स्रोतबाट मात्र जुटाउन कठिन भएकाले प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
स्थानीय तहले पटक पटक प्रदेश तथा सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आए पनि अपेक्षित परिणाम आउन नसकेको जनप्रतिनिधिको गुनासो छ । धार्मिक महत्त्व बोकेको सम्पदाको संरक्षणसँगै सेतीवेणी क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उनीहरू बताउँछन् ।
पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले केही दिनअघि तीन जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदलाई एकै ठाउँमा राखेर सेतीवेणीको समस्या अवगत गराइएको बताए । स्थलगत रूपमा समस्या देखाएपछि शिला शालिग्रामको संरक्षण तथा यसको उचित प्रचारप्रसारका लागि सांसदहरूले प्रतिबद्धता जनाएको उनले बताए ।
गुल्मीको काली गण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शिला शालिग्राम संरक्षणका लागि गाउँपालिका तयार रहेको बताए । तर एक्लो स्थानीय तहको प्रयासबाट मात्र यसको संरक्षण सम्भव नहुने भन्दै उनले केन्द्रबाटै संयुक्त पहल आवश्यक रहेकोमा जोड दिए ।
शिला शालिग्रामको वरपर संरक्षणका लागि निर्माण गरिएको पर्खालसमेत जीर्ण हुँदै गएको छ । विशेष गरी गुल्मीपट्टिको भागमा रहेको पर्खाल भत्किएको करिब पाँच वर्ष भइसक्दा पनि त्यसको पुनर्निर्माण हुन सकेको छैन । पर्खाल भत्किएपछि शिला शालिग्रामको चारैतिरबाट परिक्रमा गरेर दर्शन गर्ने अवस्था नरहेको स्थानीय बताउँछन् ।
पर्खाल जीर्ण हुनु र वर्षा याममा खोलाको बहाव शिला शालिग्रामतर्फ सोझिनुले धार्मिक सम्पदासँगै दर्शनार्थीको सुरक्षामा समेत जोखिम बढाएको छ । पहिले सहज रूपमा शिला शालिग्रामको परिक्रमा गर्न सकिने भए पनि अहिले गुल्मीपट्टिको भागमा थप जोखिम उत्पन्न भएको छ ।
पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सागर भुसालले शिला शालिग्राम संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । तीन जिल्लाका स्थानीय तहका प्रमुखसँग भएको संयुक्त भेटले आफूहरूलाई थप जिम्मेवार बनाएको भन्दै उनले संरक्षण र विकासका लागि अध्ययन तथा अनुसन्धान भइरहेको जानकारी दिए ।
उनका अनुसार शिला शालिग्रामलाई धार्मिक महत्वमा मात्र सीमित नराखी पर्यटकीय क्षेत्रका रूपमा पनि व्यवस्थित रूपमा विकास गर्न आवश्यक छ । सेतीवेणी क्षेत्रलाई सुन्तला र किवी उत्पादनको हबका रूपमा विकास गर्ने विषयमा समेत पहल भइरहेको उनले बताए ।
शिला शालिग्राम संरक्षणका लागि केही रकम विनियोजन भए पनि आवश्यकताका तुलनामा रकम अपर्याप्त रहेको भुसालले बताए । थप बजेट व्यवस्थापनका लागि पहल भइरहेको उनको भनाइ छ । उनले सङ्घीय संसद्मा समेत सेतीवेणी बजारको डुबान र शिला शालिग्रामको संरक्षणको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शिला शालिग्राम धार्मिक आस्था र स्थानीय संस्कृतिसँग गहिरो रूपमा जोडिएको स्थल हो । यहाँ नयाँ वर्ष, असारे ठुलो एकादशी, कात्तिके एकादशी र मकर सङ्क्रान्तिका अवसरमा विशेष मेला लाग्ने गर्दछ । अन्य समयमा पनि दैनिक रूपमा पूजा–आजसँगै भजनकीर्तन हुने गरेको छ ।
धार्मिक पर्यटकको आकर्षण रहेको सेतीवेणीमा शिला शालिग्रामको संरक्षण हुन नसक्दा यसको महत्त्व र भविष्यबारे स्थानीयमा चिन्ता बढेको छ । प्राकृतिक रूपमा नदीको बीचमा रहेको शिला शालिग्रामलाई नदीको कटान र डुबानबाट जोगाउन वैज्ञानिक अध्ययनसहितको दीर्घकालीन योजना आवश्यक रहेको स्थानीयको भनाइ छ ।
पर्वतका ७५ वर्षीय बृहस्पति न्यौपानेले पुरानो धार्मिक सम्पदा संरक्षणमा राज्य र नयाँ पुस्ताको चासो घट्दै गएको गुनासो गरे । शिला शालिग्रामजस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
तीन जिल्ला र दुई प्रदेशको सङ्गमस्थलमा रहेको शिला शालिग्राम धार्मिक रूपमा मात्र नभई पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो । तर वर्षा याममा बर्सेनि डुबान, नदीको धार परिवर्तन, संरक्षण पर्खालको जीर्ण अवस्था र पूर्वाधारको अभावले यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।
स्थानीय तहहरूले आफ्नो सीमित स्रोतबाट पहल गरिरहेका भए पनि नदी नियन्त्रण तथा दीर्घकालीन संरक्षणका लागि ठुलो लगानी आवश्यक पर्ने देखिन्छ । त्यसैले तीन जिल्लाका स्थानीय तह, लुम्बिनी र गण्डकी प्रदेश तथा सङ्घीय सरकारबीच समन्वय गरी शिला शालिग्रामको संरक्षण, नदी नियन्त्रण, दर्शनार्थीको सुरक्षा र पर्यटन पूर्वाधार विकासलाई एकीकृत योजनाका रूपमा अघि बढाउनुपर्ने देखिन्छ ।
बर्सेनि वर्षायाम सुरु भएपछि डुबानमा पर्ने र वर्षायाम सकिएपछि मात्र संरक्षणको चर्चा हुने प्रवृत्तिले यो धार्मिक सम्पदा सुरक्षित हुन नसक्ने स्थानीयको चिन्ता छ । समयमै वैज्ञानिक अध्ययन गरी नदीको धार व्यवस्थापन, संरक्षण पर्खाल पुनर्निर्माण र दर्शनार्थीका लागि सुरक्षित पहुँचमार्ग निर्माण गर्न सकेमा शिला शालिग्रामलाई धार्मिक आस्थाको केन्द्रसँगै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा छ ।