Butwal Today

देउवालाई शशांकको नेतृत्वमा विमानस्थलमा स्वागत गरिने

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किने भएका छन् । उनलाई स्वागत गर्न कांग्रेसका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएका छन् ।

कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू विमानस्थल पुग्ने नेता मीन विश्वकर्माले जानकारी दिए ।

‘उहाँलाई स्वागत गर्न राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थलमा पुग्नुहुन्छ,’ विश्वकर्माले भने, ‘निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो समूह उहाँको स्वागतका लागि विमानस्थलमा पुग्छौँ ।’

विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत बिहीबार मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । लामो समयको उपचारपछि स्वदेश फर्कन लागेका देउवाको भव्य स्वागत गर्ने तयारी कांग्रेसको इतर समूहले गरेको छ ।

गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि नेपालबाट सिंगापुर प्रस्थान गरेका देउवा त्यहाँको उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए । हङकङबाट थाइल्याण्ड पुगेका देउवा थाइल्याण्डबाटै नेपाल फर्किन लागेका हुन् ।

गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आन्दोलनकारीले बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवा दम्पतीमाथि कुटपिट गरेका थिए । त्यसपछि उनीहरूलाई सैनिक अस्पताल छाउनीमा उपचार गरिएको थियो । थप उपचारका लागि देउवा दम्पती सिंगापुर गएका थिए ।

उक्त घटनापछि उत्पन्न स्वास्थ्य जटिलताका कारण देउवा लामो समयदेखि विदेशमा उपचाररत रहेको उनको पारिवारिक स्रोतले बताउँदै आएको छ ।

स्वदेश फर्किएलगत्तै देउवा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय हुने कांग्रेस नेताहरूले बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार–प्रसार समितिका संयोजक विश्वकर्माले पुष्टि गरे ।

कांग्रेसभित्र गत पुसको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि देखिएको विवाद थप चर्किएको छ । यही विवादका बीच संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तयारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?