© 2026
बुटवल ।
नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि आफैँ ग्यास वितरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही, निगम, ग्यास उद्योगी तथा ग्यास विक्रेता संघको निर्णयअनुसार बुटवल र भैरहवामा वितरण केन्द्र स्थापना गरी ग्यास वितरण थालिएको हो ।
बुटवल उपमहानगरपालिका–६, हाटबजारलाइनस्थित बालमन्दिरमा वितरण केन्द्र स्थापना गरिएको छ भने भैरहवामा राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास वितरण भइरहेको छ । निगमका अनुसार आज बिहान ९ बजेदेखि ग्यास वितरण सुरु गरिएको हो ।
नेपाल आयल निगम लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयले आवश्यकताका आधारमा लक्षित वर्ग निर्धारण गरी ग्यास वितरण थालेको जनाएको छ । निगमका अनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, किरियापुत्री, रातो कार्ड प्राप्त सुकुम्बासी तथा ग्यास नपाएर चुल्हो नै नबलेका उपभोक्तालाई प्राथमिकतामा राखिएको छ ।
वितरणका लागि बुटवल ग्यास, आरती ग्यास, सिद्धार्थ ग्यास, सिद्धनाथ ग्यास, त्रिशुल ग्यास, जानकी ग्यास, स्वस्तिक ग्यास, चण्डेश्वरी ग्यास र लुम्बिनी ग्यास गरी नौ वटा उद्योगका ग्यास सिलिन्डर उपलब्ध गराइएको निगमले जनाएको छ ।
बुटवलमा ग्यास वितरण हुने जानकारी पाएपछि बिहान ८ बजेदेखि नै उपभोक्ताहरू लाइनमा बसेका थिए । मध्याह्नको चर्को घाममा समेत उपभोक्ताहरू ग्यासका लागि लामो समयदेखि लाइनमा बसिरहेका छन् ।