Butwal Today

ग्यास पर्याप्त, माग अस्वाभाविक

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

सुदूरपश्चिम ।

सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ ।

धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ ।

कार्यालय प्रमुख मनोहर डिसीले विगत दुई वर्षको तथ्याङ्कमा यस वर्षको पहिलो महिनाको २४ दिनमै बढी ग्यास आपूर्ति र बिक्री भए पनि बजारमा दबाब रहेको बताए ।

आव २०८१/८२ को साउन महिनाभर एक लाख १२ हजार ७७० सिलिण्डर ग्यास बिक्री भएकोमा आव २०८०/०८१ मा ९९ हजार ८४० सिलिण्डर बिक्री भएका थिए ।

गत वर्षको तुलनामा यस वर्षको साउन २४ सम्म तीन हजार २२० सिलिण्डर बढी बिक्री भइसकेको छ ।

साउनको बाँकी अवधिमा थप ५० हजार सिलिण्डर आउने क्रममा रहेको कार्यालय प्रमुख डिसीले जानकारी दिए ।

गत आव २०८२/८३ मा सुदूरपश्चिममा कुल ११ लाख ५० हजार ८३४ सिलिण्डरअर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०८१/८२ मा भने ११ लाख ८० हजार ८३० सिलिण्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो ।

चालु साउन २४ गतेसम्म बिक्री भएको ग्यासको परिमाण एक हजार ६५७ मेट्रिक टन रहेको छ । गत आर्थिक वर्षको साउनमा एक हजार ४१६ मेट्रिक टन ग्यास बिक्री भएको थियो ।

यस हिसाबले गत वर्षको पूरै साउनको तुलनामा चालु साउन २४ दिनमै ४६ मेट्रिक टन बढी ग्यास बिक्री भएको देखिन्छ ।

पछिल्ला दुई आवमा ग्यासको बिक्रीमा उतारचढाव देखिन्छ । आव २०८१/८२ साउनमा एक लाख १२ हजार ७७० सिलिण्डर बिक्री भएकामा भदौमा घटेर ८८ हजार ३१० पुगेको थियो ।

असोजमा ९२ हजार ५४०, कात्तिकमा ९६ हजार ११०, मङ्सिरमा एक लाख एक हजार २९० र पुसमा ८३ हजार ५८० सिलिण्डर बिक्री भएको थियो ।

यसैगरी, गत माघमा एक लाख दुई हजार ४१०, फागुनमा ९५ हजार ८३०, चैतमा ८० हजार ७८०, वैशाखमा एक लाख दुई हजार ६०, जेठमा एक लाख नौ हजार ८३० र असारमा एक लाख १५ हजार ५०० सिलिण्डर बिक्री भएको निगमको तथ्याङ्क छ ।

आव २०८२/८३ को भदौमा एक लाख आठ हजार ९९०, असोजमा एक लाख आठ हजार २२०, कात्तिकमा एक लाख १७०, मङ्सिरमा ९९ हजार ४००, पुसमा एक लाख चार हजार ५८०, माघमा एक लाख ९४० र फागुनमा एक लाख दुई हजार ६९० सिलिण्डर चैतमा ७७ हजार २१०, वैशाखमा ६६ हजार ७१०, जेठमा ७९ हजार १७० र असारमा एक लाख दुई हजार ९१५ सिलिण्डर बिक्री भएको देखिन्छ ।

महिनागत तुलना गर्दा आर्थिक वर्ष २०८२/८३ मा भदौमा अघिल्लो वर्षको सोही महिनाभन्दा २० हजार ६८० सिलिण्डर बढी बिक्री भएको थियो । असोजमा १५ हजार ६८०, कात्तिकमा चार हजार ६० र पुसमा २१ हजार सिलिण्डर बढी बिक्री भएको देखिन्छ ।

फागुनमा पनि अघिल्लो वर्षभन्दा छ हजार ८६० सिलिण्डर बढी बिक्री भएको थियो । वैशाखमा भने ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा ३५ हजार ३५० सिलिण्डरले घटेको थियो ।

जेठमा ३० हजार ६६० र असारमा १२ हजार ५८५ सिलिण्डर कम बिक्री भएको निगमको तथ्याङ्क छ । यसले प्रदेशमा ग्यासको माग तथा बिक्री महिनाअनुसार उल्लेख्य रूपमा घटबढ हुने गरेको देखाउँछ ।

निगमका अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा कूल ११ लाख ८० हजार ८३० सिलिण्डर अर्थात् १६ हजार ८६९ मेट्रिक टन ग्यास बिक्री भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा भने ११ लाख ५० हजार ८३४ सिलिण्डरअर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब दुई दशमलव पाँच प्रतिशत कम सिलिण्डर बिक्री भएको देखिन्छ ।

यस वर्षको साउनमा भने माग पुनः तीव्र रूपमा बढेको छ । निगमको विवरणअनुसार साउन २४ गतेसम्म बिक्री भएका एक लाख १५ हजार ९९० सिलिण्डरमध्ये रेडियन्ट (रोयल)  ग्यासका ७२ हजार ९४० र सैपाल ग्यासका ४३ हजार ५० सिलिण्डर छन् ।

जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा सोमबार धनगढीमा गरिएको बजार अनुगमनका क्रममा पनि ग्यास डिलरमा नियमित आपूर्ति भइरहे पनि उपभोक्ताबाट माग अत्यधिक बढेको पाइएको थियो ।

केही डिलरमा पर्याप्त मौज्दात रहे पनि कतिपय डिलरमा माग अस्वाभाविक रूपमा बढेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहे पनि हल्लाको पछि लागेर अतिरिक्त सिलिण्डर भण्डारण गर्दा बजारमा दबाब देखिएको उनको भनाइ छ । “हल्लाको पछाडि लागेर अतिरिक्त सिलिण्डर थुपार्न आवश्यक छैन । बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको छ”, खत्रीले भने ।

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख डिसीले पनि विगत वर्षहरुको माग र हालको आपूर्ति विश्लेषण गर्दा प्रदेशमा ग्यास अभाव नरहेको बताए । “सुदूरपश्चिममा आपूर्तिको समस्या छैन । हामीले विगत वर्षभन्दा हाल बढी नै ग्यास आपूर्ति गरिरहेका छौँ । उपभोक्ताले हल्लाको पछि लागेर सिलिण्डर थुपार्दा समस्या भएको हुनसक्छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?