© 2026
काठमाडौँ । नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूले सरकारले लगानीमैत्री वातावरण निर्माण गरे २०० अर्ब रुपैयाँसम्म थप लगानी गर्न आफूहरू तयार रहेको बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार अर्थ मन्त्रालयमा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग गरेको छलफलमा उनीहरूले जलविद्युत्, खाद्य, होटल, पेय पदार्थ, पेन्टलगायत उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न सकिने बताएका हुन्।
कम्पनी प्रतिनिधिहरूले लगानी विस्तारका लागि नीतिगत तथा व्यावहारिक सुधार आवश्यक रहेकोमा जोड दिए। उनीहरूले उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय तथा कर र भन्सार प्रशासनमा सुधार देखिए पनि अझै प्रक्रियागत सहजीकरण आवश्यक रहेको बताएका थिए। बहुराष्ट्रिय कम्पनीहरूले माउ कम्पनीबाट नेपालमा पुँजी ल्याउने प्रक्रियालाई सहज बनाउन, आर्थिक तथा फौजदारी अपराधको स्पष्ट व्याख्या गर्न, आयकर ऐनको दफा ५७ संशोधन गर्न तथा श्रमिक कानुनलाई लगानीमैत्री बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
त्यस्तै, कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर, नेपालमै उपलब्ध कच्चा पदार्थको सहज आपूर्ति, जग्गाको हदबन्दी फुकुवा, स्थानीय तहअनुसार फरक–फरक करको समस्या समाधान, दोहोरो कर हटाउने तथा लगानीको प्रतिफल फिर्ता लैजाने प्रक्रिया सहज बनाउन उनीहरूले माग गरेका छन्। अर्थमन्त्री वाग्लेले भने नेपालमा थप लगानी गर्न, भइरहेका उद्योग विस्तार गर्न तथा नयाँ उत्पादन र प्रविधिमा प्रवेश गर्न कम्पनीहरूलाई आग्रह गरेका छन्। सरकारले लगानीकर्तालाई आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
छलफलमा एनसेल, सूर्य नेपाल, गोर्खा ब्रुअरी, डाबर नेपाल, युनिलिभर नेपाल, एसियन पेन्ट्स, बोटलर्स नेपाल, होङ्सी शिवम् सिमेन्ट, वरुण बेभरेज, बर्जर पेन्ट्सलगायत विभिन्न बहुराष्ट्रिय कम्पनीका नेपाल प्रमुख तथा नेपाली लगानीकर्ताहरू सहभागी थिए।