© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलगायत भुटानी शरणार्थी प्रकरणका आरोपितहरू रिहा हुँदै गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारमाथि प्रश्न उठाएका छन् ।
उनले भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गरी नयाँ अभियोगपत्र अदालतमा पेस गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण गर्दै सत्तामा पुगेका दलहरूले नै भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई अघि बढाउन नसकेको आरोप लगाएका हुन् ।
‘नयाँ सरकार बनेको सात महिना र त्यसअघिको सरकारसहित जोड्दा तेह्र महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान गरी नयाँ फाइल अदालतसम्म पुर्याउन सकेको छैन,’ उनले लेखेका छन् ।
विगतको सरकारले अनुसन्धान गरी मुद्दा चलाएका र जेल सजाय भोगिरहेका व्यक्तिहरूसमेत रिहा भइसकेको उल्लेख गर्दै शाहीले प्रकरणको थप अनुसन्धान र दोषीमाथि कारबाहीको प्रक्रिया कहाँ पुगेको छ भन्दै प्रश्न गरेका छन् ।
‘नयाँ फाइल किन तयार भएनरु दोषीमाथि थप कारबाही किन भएन ?’ शाहीले प्रश्न गरेका छन् ।
यसैबीच, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी बिहीबार रिहा भएका छन् । उनको रिहाइपछि शाहीले सरकारको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका हुन् ।