Butwal Today

सुख्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध

२६ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

गुल्मी । सुख्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडक अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडकखण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि गए रातीदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा जेसीबी प्रयोग गरी सडकमा थुप्रिएको पहिरो हटाउने तैयारी भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक विरेन्द्रवीर बिश्वकर्माले जानकारी दिएका छन् ।

सडक अवरुद्ध हुँदा तिहार मनाएर गुल्मीहुँदै पाल्पा, बुटवल, वाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारी साधन तथा यात्रुहरु बिच बाटोमै रोकिएका छन् । पहिरोका कारण उक्त सडक पटक पटक अवरुद्ध बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?