Butwal Today

रिब्दीकोटमा घरमै हुने प्रसूति शून्य

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

पाल्पा  । पाल्पाको रिब्दीकोट गाउँपालिकामा पछिल्ला दुई आर्थिक वर्षमा घरमै हुने प्रसूति शून्यमा झरेको छ ।

गाउँपालिकाले सुरक्षित मातृत्व कार्यक्रमलाई प्राथमिकता दिँदै गर्भवतीलाई पोषण भत्ता र निःशुल्क एम्बुलेन्स सेवासमेत उपलब्ध गराएपछि संस्थागत प्रसूतिमा सुधार आएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रका उपलब्धि सार्वजनिक गर्दै सुरक्षित मातृत्व, बाल स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन तथा सर्ने र नसर्ने रोग नियन्त्रणका क्षेत्रमा भएका प्रगति प्रस्तुत गरेको हो ।

स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीका अनुसार गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थामा पु¥याउन वडा तहका स्वास्थ्य चौकी, गाउँघर क्लिनिक र महिला स्वास्थ्य स्वयंसेविकाको परिचालनलाई प्रभावकारी बनाइएको छ । “हामी पालिकाभित्र शतप्रतिशत संस्थागत प्रसूति गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ,” उनले भने ।

उनका अनुसार जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई दिइने सम्पूर्ण खोप तालिकाअनुसार शतप्रतिशत बालबालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको छ । बालबालिकाको नियमित तौल अनुगमन तथा भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमसमेत प्रभावकारी रूपमा सञ्चालन भएको उनले बताए ।

त्यस्तै, ३० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप तथा मधुमेह परीक्षण निःशुल्क रूपमा सञ्चालन गरिएको छ ।
खस्यौली प्राथमिक उपचार केन्द्रमा लक्ष्यभन्दा करिब तीन गुणा बढी बिरामीले स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले सबै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

भौगोलिक रूपमा विकट वडामा समेत स्वास्थ्य सेवा पु¥याउन पूर्वाधार र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको उनले बताए । उनका अनुसार गाउँपालिकाले स्वास्थ्य संस्थाको सङ्ख्या ११ बाट बढाएर १५ पु¥याएको छ ।

उपाध्यक्ष कान्ता अधिकारीले महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले स्वास्थ्यकर्मीलाई सेवाग्राहीप्रति थप उत्तरदायी भएर काम गर्न आग्रह गरिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले स्वास्थ्य सेवाको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष सुदृढ गर्दै सेवा प्रवाहलाई पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने बताए । नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि स्वास्थ्यकर्मीलाई घरदैलोसम्म पुगेर सचेतना फैलाउन उनले आग्रह गरे ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जिल्लाका स्वास्थ्य सूचक सुधारमा रिब्दीकोट गाउँपालिकाको योगदान महत्वपूर्ण रहेको बताउँदै प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी स्वास्थ्य सेवाको पहुँच र गुणस्तर थप सुधार गर्नुपर्नेमा जोड दिए ।

वार्षिक समीक्षा कार्यक्रममा पालिकाभित्र उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थालाई सम्मानसमेत गरिएको छ । आठ वटा स्वास्थ्य संस्थामध्ये खस्यौली प्राथमिक उपचार केन्द्र प्रथम, ठिमुरे स्वास्थ्य चौकी द्वितीय र ख्याहा स्वास्थ्य चौकी तृतीय भएका छन् । उत्कृष्ट संस्थाका प्रमुख तथा सम्बन्धित वडा अध्यक्षलाई गाउँपालिकाले सम्मान गरेको हो ।

कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य संस्थाले सम्पादन गरेका काम, हासिल भएका उपलब्धि, देखिएका चुनौती र आगामी वर्षको स्वास्थ्य सेवा सुधारका रणनीतिबारे छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?