Butwal Today

वेस्टर्न मेगा कलेजका विद्यार्थीले गरे बोलबम धाम सरसफाइ तथा तीर्थालु सेवा

२५ श्रावण २०८३, सोमबार
अ+
अ-

बुटवल । रुपन्देहीको सैनामैना–१, पर्रोहास्थित प्रसिद्ध धार्मिकस्थल श्री पर्रोहा परमेश्वर बोलबम धाम मन्दिर परिसरमा वेस्टर्न मेगा कलेजका विद्यार्थीले सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन् ।

बुटवल–१५, ढवाहामा रहेको वेस्टर्न मेगा कलेजमा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले साउन महिनाको अन्तिम सोमबारका अवसरमा मन्दिर परिसर तथा आसपासको क्षेत्रमा सरसफाइ गर्नुका साथै तीर्थालुलाई सेवा प्रदान गरेका हुन् ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप, सामाजिक उत्तरदायित्व तथा समुदायप्रतिको सकारात्मक सोच विकास गराउने उद्देश्यले सामाजिक तथा सिर्जनात्मक गतिविधिलाई कलेजले प्राथमिकता दिँदै आएको प्राचार्य अधिकृत विष्णु शर्माले बताए ।

कलेजका अनुसार साउन महिनाका प्रत्येक सोमबार विद्यार्थीले विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा सरसफाइसँगै तीर्थालु सेवा कार्यक्रम सञ्चालन गरेका थिए । यस्ता गतिविधिले विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक सहभागितालाई थप सशक्त बनाउने विश्वास कलेजले लिएको छ ।

साउनको अन्तिम सोमबारको अवसरमा मन्दिर परिसर तथा आसपासको वातावरण स्वच्छ राख्नुका साथै दर्शनार्थीलाई सेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सरसफाइमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको भन्दै कलेजले आगामी दिनमा पनि यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ ।

यसैबिच, वेस्टर्न मेगा कलेजमा स्नातक तहमा चार वर्षे बिआइटी तथा बिएचएम र स्नातकोत्तर तहमा दुई वर्षे एमबिए अध्यापन हुँदै आएको कलेजले जनाएको छ । कलेजले शैक्षिक वर्ष २०८३ का लागि भर्ना समेत खुला गरेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?