Butwal Today

गुल्मीमा ३ थान भरुवा बन्दुक बरामद

२४ श्रावण २०८३, आइतबार
अ+
अ-

गुल्मी । गुल्मीमा विभिन्न स्थानबाट तीन थान भरुवा बन्दुक फेला परेका छन् ।

प्रहरीको नियमित गस्ती र स्थानीयको सूचनाको आधारमा विभिन्न पालिकाबाट बेवारिसे अवस्थामा उक्त भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका–२ धागिथुम स्थित सेतो गुराँस क्षेत्रमा एक थान, मदाने गाउँपालिका–२ स्थित बाँझकटेरीबाट एक थान र रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारको मुसीडाँडाबाट एक थान गरी तीन थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक पर्वत केसीले बताएका छन् ।

उनले भरुवा बन्दुकसँगै बारुद र छर्रा समेत फेला परेको बताए । यसरी लगातार विभिन्न स्थानमा भरुवा बन्दुक फेला पर्न थालेपछि ती हतियार कसले, किन र कुन प्रयोजनका लागि लुकाएर राखेका थिए भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय गुल्मीले थप अनुसन्धान सुरु गर्न थालेको जनाएको छ ।

प्रहरीले यस अघि निर्वाचनको समयमा सार्वजनिक रूपमा सूचना जारी गरी व्यक्तिसँग भएका हतियारहरूलाई जिल्ला प्रहरी कार्यालयमा जम्मा गरी सुरक्षित गर्न आग्रह गरेको थियो ।

अवैध हतियारहरू लुकाई छिपाइ राख्दा पछि कुनै बेला जडिल समस्या उत्पन्न हुनसक्ने त्रासका कारण व्यक्तिले जिल्लाका ग्रामीण तथा वन क्षेत्रमा यसरी बेवारिसे अवस्थामा भरुवा बन्दुक छोडेर गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसरी फेला परेका बन्दुकहरू स्थानीय ओढार जस्तो ठाउँ, जङ्गल तथा झाडीमा छोडेर हिँड्ने गरेको बताइएको छ । बेवारिसे अवस्थामा फेला परेका यस्ता भरुवा बन्दुकहरूलाई बरामद मुचुल्का गरेर राख्ने गरिएको प्रहरी निरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?