© 2026
जीतपुर (कपिलवस्तु) । साझेदारी बनबाट सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुनः सुरु गरिएको छ।
राति दुई बजेसम्म खोजी गर्दा पनि सिंह नभेटिएपछि रोकिएको खोजी कार्य बिहानदेखि गोरुसिङ्गे जङ्गल क्षेत्रमा पुनः सुरु गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जिल्ला प्रहरीको टोली र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेसहितको प्रहरी टोलीले बिहानैदेखि खोजी कार्य जारी राखेको छ।
यसअघि शुक्रबार राति प्रहरी र स्थानीय बासिन्दासहित हजारौँको सङ्ख्यामा परिचालित टोलीले ढेकहरी क्षेत्र आसपासका विभिन्न स्थानमा खोजी गरेको थियो। तर, राति अबेरसम्म पनि सिंहको अवस्था पत्ता लाग्न सकेको थिएन।
पूर्व मेयर सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म खोल्ने तयारी गरिरहेकाले यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ। सिंह कसरी सम्पर्कविहीन भए भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।