© 2026
बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढ्दै गएको छ । एक वर्षमा ३७ हजारभन्दा बढी पर्यटकले ढोरपाटन भ्रमण गरेका छन् ।
तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेको ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।
कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार एक वर्षमा ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या १३ हजारभन्दा बढीले बढेको छ । पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थित होटल र घरबास (होमस्टे) को विकासका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको उनले बताए ।
आर्थिक वर्ष २०८२र८३ मा ढोरपाटन आउने पर्यटकको सङ्ख्या ३७ हजार ५२० पुगेको छ । तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेका छन् । आव २०८१र८२ मा २३ हजार ६९२ र आव २०८०र८१ मा १५ हजार ५७३ पर्यटकले ढोरपाटन भ्रमण गरेका थिए ।
पर्यटकको सङ्ख्या बढेसँगै प्रवेश शुल्कबाट प्राप्त हुने राजस्वसमेत वृद्धि भएको छ । आव २०८२र८३ मा पर्यटक प्रवेश शुल्कबाट रु ४७ लाख ६८ हजार ४०५ राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा यस्तो राजस्व रु ३१ लाख २१ हजार ५०० रहेको थियो ।
ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास, बुकीपाटनको चर्चा तथा जलजलामा पदयात्रा गर्ने पर्यटकको सङ्ख्या बढेकाले पर्यटक आगमनमा वृद्धि भएको रेञ्जर सुवेदीले बताए ।
उनका अनुसार पर्यटक सूचना प्रणालीको विकास, पर्यटन पदमार्गको रुट कायम तथा अन्य पूर्वाधार विस्तारले ढोरपाटनको प्रचारप्रसारमा सहयोग पुगेको छ । आरक्षले नेपाली पर्यटकबाट रु १००, सार्क राष्ट्रका पर्यटकबाट रु एक हजार ५०० र विदेशी पर्यटकबाट रु तीन हजार प्रवेश शुल्क लिँदै आएको छ ।
यसैगरी, आरक्षले ढुङ्गा, गिट्टी र बालुवाबाट आव २०८२र८३ मा रु एक करोड एक लाख २७ हजार ९५३ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा रु ४६ लाख ४१ हजार बढी हो ।
“ढोरपाटनको आकर्षण अहिले बाहिर आउन थालेको छ । यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुको प्रमुख कारण प्रचारप्रसार हो । पर्यटकीय पूर्वाधार थपिनु, बुकीपाटन, बुकीफूल र जलजलाको चर्चा बढ्नु, पदयात्रीको रोजाइमा पर्नु तथा होटल र घरबासको व्यवस्थापनका कारण पर्यटकको सङ्ख्या बढेको हो,” सुवेदीले भने ।
यसअघि ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकीपाटन र जलजला क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटकसमेत ठुलो सङ्ख्यामा पुग्न थालेका छन् ।
समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको ढोरपाटन उपत्यकादेखि चार हजार मिटरभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन् । पर्यटकलाई शुल्क लिएर पालसहित बस्ने व्यवस्था समेत मिलाइएको आरक्ष कार्यालयले जनाएको छ ।