© 2026
पाल्पा । पाल्पाको पूर्व खोला गाउँपालिकामा यस वर्ष धान बालीमा खपटे किराको प्रकोप फैलिएपछि किसान चिन्तित बनेका छन् ।
विशेष गरी गाभा (गाझ) हाल्न लागेको अवस्थामा धान बालीमा किराले व्यापक क्षति पु¥याएपछि वर्षभरिको अन्न उत्पादन गर्ने किसानको आशा नै सङ्कटमा परेको छ ।
पूर्व खोला गाउँपालिका–स्थित पूर्व खोला फाँटका कृषक रामप्रसाद खनालले आफ्नो खेतमा मात्र नभई पूर्व खोला फाँटको ठुलो भागमा खपटे किराले धानबाली नष्ट गरेको बताए । “धान राम्रोसँग हुर्किएर गाभा हाल्ने बेला भएको थियो। उत्पादन राम्रो हुन्छ भन्ने आशा गरेका थियौँ । तर एक्कासि खपटे किराले धानको पात काट्न थालेपछि खेत हेर्न पनि मन लाग्दैन,” उनले दुखेसो पोखे ।
उनका अनुसार वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्ने लक्ष्यसहित ऋणसमेत गरेर खेती गरेका किसान अहिले ठुलो आर्थिक चिन्तामा परेका छन् । मेहनत, लगानी र समय सबै खेर जाने अवस्था आएपछि किसान निराश बनेका छन् ।
स्थानीय कृषक माया रानाले पूर्व खोला फाँट मात्र नभई माथिल्लो फुरुङ्दी क्षेत्रसम्म किराको प्रकोप फैलिएको बताइन् । “तलको ठुलो फाँटदेखि माथिल्लो क्षेत्रमा समेत धान बालीमा खपटे किराले क्षति पु¥याएको छ ।
धेरै किसानको खेतमा एउटै समस्या देखिएको छ,” उनले भनिन् । पछिल्ला वर्षहरूमा आधुनिक प्रविधि र उन्नत बीउ प्रयोगसँगै धान खेतीको लागत पनि बढ्दै गएको छ । मल, बीउ, मजदुरी, सिँचाइ र विषादीमा ठुलो लगानी गरेका किसान उत्पादनको आशामा रहेका बेला किराको आक्रमणले थप पीडा दिएको छ ।
पूर्व खोला फाँटका अर्का कृषक कमल खनालले पाँच रोपनी क्षेत्रफलमा लगाएको धानमध्ये आधाभन्दा बढी क्षति भएको बताए । “सुरुमा खासै थाहा भएन। जब धानले गाभा हाल्न सुरु ग¥यो, त्यस बेला पात काटिएको र बोट नै कमजोर भएको देखियो । त्यसपछि मात्रै खपटे किराको प्रकोप भएको थाहा पायौँ,” उनले भने ।