Butwal Today

रोल्पालाई ‘गुलाफको सहर’ बनाउने अभियान 

२० श्रावण २०८३, बुधबार
अ+
अ-

रोल्पा । रोल्पा नगरपालिकाले जिल्ला सदरमुकाम लिबाङलाई ‘गुलाफको सहर’का रूपमा विकास गर्ने अभियानलाई तीव्रता दिएको छ ।

नगरपालिकाले वातावरणीय संरक्षण, हरित विकास, पर्यटन प्रवर्द्धन र नागरिक सहभागितालाई केन्द्रमा राखेर अभियान अघि बढाएको जनाएको छ ।

रोल्पा नगरपालिकाको १९औँ नगरसभाले लिबाङ बजार क्षेत्रलाई गुलाफको फूलको सहरका रूपमा विकास गर्ने निर्णय गरेपछि अभियान कार्यान्वयनमा आएको हो । पहिलो चरणमा वडा नम्बर १, २ र ४ अन्तर्गत सातदोबाटोदेखि लिबाङ बजार हुँदै रेउघासम्मको मुख्य सडक क्षेत्र तथा आसपासका स्थानमा गुलाफका बिरुवा रोप्ने कामलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाले अभियानका लागि छुट्टै ठूलो बजेट विनियोजन नगरी स्थानीय बासिन्दा, व्यवसायी, सामाजिक सङ्घसंस्था तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई आफ्नै स्रोत र श्रमबाट अभियानमा सहभागी हुन आग्रह गरेको जनाएको छ । सार्वजनिक स्थल, सडक किनार, कार्यालय परिसर, निजी घर तथा खुला क्षेत्रहरूमा गुलाफ रोपेर वातावरणलाई आकर्षक बनाउन सबैलाई आह्वान गरिएको छ ।

रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले लिबाङ क्षेत्रमा पहिलेदेखि नै रैथाने जातका गुलाफ पाइने भएकाले त्यसैलाई आधार बनाएर ‘गुलाफ सिटी’को अवधारणा अघि बढाइएको बताए । रोल्पाको हावापानी र माटो रैथाने गुलाफका लागि उपयुक्त भएकाले प्राकृतिक विशेषतालाई पर्यटनसँग जोड्ने उद्देश्य राखिएको उनले बताए ।

भालुवाङ, लिवाङ, थबाङ हुँदै रुकुमकोटसम्मको सडक खण्डलाई पर्यटकीय कोरिडोरका रूपमा विकास गर्ने गरी लुम्बिनी प्रदेश सरकारसँग समन्वय भइरहेको उनले बताए ।

सम्पूर्ण क्षेत्रलाई दीर्घकालीन रूपमा ‘ट्रान्स हिमालय हिल स्टेशन’का रूपमा विकास गर्ने सोच नगरपालिकाले अघि सारेको उनले बताए । पर्यटन विकासका लागि वातावरणीय सौन्दर्य, सरसफाइ र हरियाली महत्त्वपूर्ण आधार भएकाले लिवाङ बजारलाई गुलाफको सहरका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनले बताए ।

अभियानले नगरको पहिचान निर्माण गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

अभियान सफल बनाउन पहिलो चरणमा ठूलो बजेटभन्दा पनि स्थानीय समुदायलाई परिचालन गर्ने रणनीति अपनाइएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय मार्फत सरकारी तथा गैरसरकारी कार्यालयहरूलाई कार्यालय परिसरमा गुलाफ रोप्न अनुरोध गरिएको उनले बताए ।

साउन र भदौलाई गुलाफ रोप्न उपयुक्त समय मानिएकाले वडा कार्यालयमार्फत मातहतका निकायहरूलाई आवश्यक समन्वय गर्न निर्देशन दिइएको उनले बताए । साथै उनले डिभिजन वन कार्यालयसँगको सहकार्यमा सार्वजनिक स्थलहरूमा समेत बिरुवा रोप्ने योजना बनाइएको जानकारी दिए ।

सातदोबाटो क्षेत्रका स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह तथा टोल विकास समितिसँग पर्यटन प्रवर्द्धनका विषयमा छलफल सम्पन्न भइसकेको उनको भनाइ छ । स्थानीयको सानो प्रयास र सामूहिक श्रमबाट गाउँ तथा बजारलाई आकर्षक बनाउन सकिने विश्वासका साथ अभियान सञ्चालन गरिएको उनले बताए ।

अभियानको दिगोपनाका लागि स्थानीय बासिन्दाको अपनत्व अत्यन्त आवश्यक रहेको उनले बताए । वडा नम्बर २, ३ र ४ अन्तर्गतका टोल सुधार समितिहरूलाई परिचालन गर्न परिपत्र गरिसकिएको भनाइ उनले बताए । टोल सुधार समितिमार्फत आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिने भनाइ उनले बताए ।

आफ्नो घर, आँगन र छरछिमेकलाई सुन्दर बनाउनु नै समग्र लिबाङ र रोल्पा नगरपालिकाको सौन्दर्य अभिवृद्धि गर्नु भएको भनाइ उनले बताए । महिला समूह, युवा क्लब, आमा समूह तथा स्थानीय संघसंस्थासँग सहकार्य गरी सरसफाइ र गुलाफ रोप्ने अभियानलाई निरन्तरता दिइने भनाइ उनले बताए ।

हाल अभियानलाई सम्पूर्ण नगर क्षेत्रमा विस्तार नगरिएको भनाइ घिमिरेले बताए । पहिलो चरणमा सातदोबाटोदेखि रेउघासम्मको मुख्य बजार क्षेत्रलाई प्राथमिकतामा राखिएको भनाइ उनले बताए । अभियान प्रभावकारी बनेपछि क्रमशः अन्य क्षेत्रमा समेत विस्तार गरिने तयारी रहेको भनाइ उनले बताए ।

अभियानको प्रभावकारी प्रचारप्रसारका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने विश्वास नगरपालिकाले गरेको छ । सकारात्मक सन्देश प्रवाह गरी नागरिक सहभागिता अझ बढाउने लक्ष्य रहेको उनले बताए ।

स्थानीय बासिन्दाले अभियानलाई उत्साहजनक रूपमा समर्थन गरेका छन् । स्थानीय मनबहादुर नेपालीले नगरपालिकाले सुरु गरेको अभियानले लिबाङको सौन्दर्य बढाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए । अभियानले रोल्पाको ऐतिहासिक पहिचानलाई थप सुदृढ बनाउने अपेक्षा रहेको उनले बताए ।

पत्रकार वीरेन्द्र गिरीले प्राकृतिक सम्पदाको संरक्षण र वातावरणीय सौन्दर्य अभिवृद्धिका लागि अभियान प्रभावकारी माध्यम बन्ने विश्वास रहेको बताए । यस्ता अभियानले युवा पुस्तामा प्रकृति प्रेम र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुग्ने भनाइ उनले बताए ।

रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले सरकारी बजेटको मात्र प्रतीक्षा नगरी आफ्नै स्रोत, साधन र श्रमदानबाट सहरलाई हराभरा बनाउन सकिन्छ भन्ने सन्देश अभियानले दिएको बताए । नागरिकमा आफ्नो गाउँ तथा सहरप्रति अपनत्व र जिम्मेवारीको भावना विकास गर्नु अभियानको प्रमुख उपलब्धि हुने उनले बताए ।

हाल लिबाङ क्षेत्रका बासिन्दाले घर, आँगन, बगैँचा, सडक किनार तथा सार्वजनिक स्थानहरूमा गुलाफका बिरुवा रोप्ने कार्यलाई तीव्रता दिएका छन् । स्थानीय तहको नेतृत्व, वडा कार्यालयहरूको सक्रियता, डिभिजन वन कार्यालयको समन्वय र नगरवासीको निरन्तर सहभागिता कायम रहन सके आगामी केही वर्षभित्र लिबाङ देशकै नमुना ‘गुलाफको सहर’का रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?