Butwal Today

बुटवल हस्पिटलको रक्तदानमा ५१ प्वाइन्ट रगत सङ्कलन

२० श्रावण २०८३, बुधबार
अ+
अ-

बुटवल  । बुटवल हस्पिटल प्रालिले आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ५१ प्वाइन्ट रगत सङ्कलन भएको छ ।

उपचारका क्रममा रगत अभाव हुन नदिन तथा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिले रक्तदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद शर्माले रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक कार्य भएकाले यसमा सहभागी हुने सबै रक्तदाताप्रति आभार व्यक्त गरे । उनले बिरामीको आवश्यकता र समयअनुसार स्वास्थ्य सेवा तथा सुविधाको दायरा विस्तार गर्दै गुणस्तरीय उपचार सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको बताए ।

अस्पतालका प्रशासन प्रमुख विक्रम खड्काले रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले हरेक तीन महिनामा नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले आर्थिक रूपमा विपन्न तथा असहाय बिरामीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने नीति पनि अस्पतालले निरन्तर अपनाउँदै आएको बताए ।

बुटवल तथा आसपासका क्षेत्रमा विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र विविध स्वास्थ्य सेवाका कारण बुटवल हस्पिटल बिरामीहरूको रोजाइमा पर्दै गएको छ । अस्पतालले उपचार सेवासँगै रक्तदान, स्वास्थ्य सचेतना र अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?