© 2026
महेन्द्रनगर । कञ्चनपुरको ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण सुरु भएको करिब १० वर्ष पुग्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन ।
चट्टानी भूभाग, विकट भौगोलिक अवस्था वा अन्य प्राकृतिक अवरोध नभए पनि निर्माण कम्पनीको लापरबाहीका कारण आयोजना अझै अलपत्र परेको हो ।
२०७३ फागुनमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तीन चरणमा ठेक्का सम्झौता गरेर काम सुरु गरिएको उक्त सडक पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेन । स्थानीयवासी, जनप्रतिनिधि, सांसद तथा मन्त्रीहरूले पटक–पटक निर्माण छिटो सम्पन्न गर्न आग्रह गरे पनि अहिले सडकको बिचको खण्ड पुनः नयाँ ठेक्का प्रक्रियामा पुगेको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेका अनुसार पहिलो प्याकेज (डोकेबजार–बेलौरी, २० किमी) निर्माण सम्पन्न भएर सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई हस्तान्तरणको प्रक्रियामा छ । अन्तिम प्याकेज (बेल्डाडी–दैजी, २४ किमी) पनि सम्पन्न भई त्रुटि दायित्व अवधि (डीएलपी) मा प्रवेश गरिसकेको छ ।
बिचको प्याकेज भने निर्माण व्यवसायीको लापरबाहीका कारण अधुरै रहेको छ । उनका अनुसार बाबा हंस सिद्धिसाई जेभीले ११ किलोमिटर सडक कालोपत्रे गरे पनि धेरै स्थानमा सडक भत्किसकेको छ ।
ठेकेदारले कामलाई प्राथमिकतामा राखेन । कार्यालयले म्याद थप, भुक्तानीलगायत सबै आवश्यक सहजीकरण गर्दा पनि पेटी ठेकेदार प्रयोग गर्ने, भुक्तानी नदिने जस्ता कारणले आयोजना वर्षौँसम्म लम्बियो, उनले भने ।
उनका अनुसार अहिले उक्त ठेक्का रद्द गरी नयाँ ठेक्काका लागि लागत अनुमान (स्टिमेट) तयार भइरहेको छ । करिब डेढ महिनाभित्र नयाँ ठेक्का आह्वान गरिनेछ । यद्यपि भारतसँगको सीमा विवादका कारण पचुई क्षेत्रको करिब १ हजार ४ सय मिटर सडकखण्डमा कालोपत्रे गर्न नसकिने भएकाले उक्त भाग बाहेकको निर्माण अघि बढाइने योजना रहेको छ ।
यसअघि बिचको प्याकेज रु ४१ करोडमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले त्यसबापत रु २८ करोड भुक्तानीसमेत लिइसकेको कार्यालयले जनाएको छ ।
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले सडक निर्माण सम्पन्न गराउन स्थानीय तहले मन्त्रीदेखि प्रधानमन्त्रीसम्म ज्ञापन पत्र बुझाएको र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समेत समन्वयको प्रयास गरेको बताए । तर त्यसबाट कुनै ठोस उपलब्धि हासिल हुन नसकेको उनको भनाइ छ ।
उनले वर्षायाममा सडक हिलाम्मे हुने भएकाले स्थानीयवासीलाई दैनिक आवतजावतमा ठुलो समस्या भइरहेको उल्लेख गर्दै नयाँ ठेक्का प्रक्रिया छिट्टै टुङ्ग्याएर निर्धारित समयमै निर्माण सम्पन्न गर्न आग्रह गरे ।
यो सडक नबन्दा जनप्रतिनिधिको समेत बेइज्जती हुने अवस्था आएको छ । स्थानीयवासी वर्षौँदेखि सास्ती खेपिरहेका छन्, उनले भने ।