© 2026
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्व प्रधानमन्त्री तथा मङ्गोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–मङ्गोलियाबिचको कूटनीतिक सम्बन्ध, साझा हित तथा बहु आयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । दुवै देशबिचको भौगोलिक तथा सांस्कृतिक समानता र मैत्रीपूर्ण सम्बन्धबारे पनि विचार आदानप्रदान भएको थियो ।
भेटका क्रममा विद्यालय शिक्षामा विशेष गरी चेस खेलको प्रवर्द्धन तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा पनि छलफल भएको छ ।
मन्त्री पोखरेलले नेपाल र मङ्गोलियाबिचको लामो मैत्रीपूर्ण सम्बन्ध, समान भौगोलिक अवस्था र सांस्कृतिक विविधताबारे उल्लेख गर्दै दुई देशबिचको बहु आयामिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
उनले शिक्षा तथा खेलकुद, विशेष गरी चेस खेलको विकासका लागि मङ्गोलियन सरकार र मङ्गोलियन चेस फेडेरेसनसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए ।
मन्त्री पोखरेलले नेपालले विद्यालय शिक्षामै खेलकुदलाई समायोजन गर्ने दिशामा काम गरिरहेको र त्यसका लागि मन्त्रालय सकारात्मक रहेको बताए । उनले नेपाल चेस फेडेरेसन र मङ्गोलियन चेस फेडेरेसनबीच सहकार्यका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
पूर्व प्रधानमन्त्री जान्दानशातारले नेपाल र मङ्गोलियाबिचको कूटनीतिक सम्बन्ध, भौगोलिक अवस्था तथा सांस्कृतिक समानताबारे चर्चा गर्दै मङ्गोलियामा बौद्ध धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति रहेको बताए ।
उनले चेस केवल खेल मात्र नभई शिक्षाको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै मङ्गोलियाले दक्षिण एसिया लगायत विभिन्न देशसँग सहकार्य गरी विद्यालय शिक्षामै चेस समावेश गर्ने अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।
उनले नेपालको शिक्षा तथा खेलकुद मन्त्रालयसँग पनि यस क्षेत्रमा सहकार्य गर्न मङ्गोलिया तयार रहेको बताए । जान्दानशातारले चेसले विद्यार्थीमा समालोचनात्मक सोच, निर्णय क्षमता, स्वतन्त्र रूपमा निर्णय गर्ने सीप तथा बौद्धिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
उनले मङ्गोलियामा विद्यालय शिक्षामै चेसलाई एकीकृत गरिएको अनुभव सुनाउँदै नेपाल चेस फेडेरेसनसँग सहकार्य गरी नेपालको विद्यालय शिक्षामा पनि चेसलाई प्रवर्द्धन गर्न मङ्गोलियन सरकार र मङ्गोलियन चेस फेडेरेसन सहयोग गर्न तयार रहेको बताए ।