Butwal Today

झापामा मानव–हात्ती द्वन्द्व: १६ वर्षमा ८० जनाको ज्यान गयो

१७ श्रावण २०८३, आइतबार
अ+
अ-
भद्रपुर (झापा) ।  झापामा मानव–हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो १६ वर्षमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती पनि मारिएका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार विसं २०६७ असार ३ गतेदेखि विसं २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ । उनका अनुसार झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका छन् ।
कार्यालयका अनुसार २०८० साल मानव–हात्ती द्वन्द्वका कारण सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो । उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०८२र८३ मा भने छ जनाले ज्यान गुमाएका छन् । मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइएको प्रमुख यादवले जानकारी दिएका छन् ।
अभिलेखअनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात सात, २०७० मा तीन, २०७१ मा दुई, २०७२ मा चार, २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच पाँच, २०७५ र २०७६ मा एक एक, २०८० मा आठ, २०८१ मा चार तथा २०८२ र २०८३ को हालसम्म छ जनाको मृत्यु भएको छ । विसं २०६७ यता १० जना गैर नेपालीको पनि हात्तीको आक्रमणबाट मृत्यु भएको प्रमुख यादवले बताएका छन् ।
मानिस मात्र होइन, मानव–हात्ती द्वन्द्वको असर हात्तीमा पनि उत्तिकै परेको प्रमुख यादवले बताएका छन् । कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन् । तीमध्ये सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका छन् ।
प्रमुख यादवका अनुसार वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषि बालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण हुन् । उनले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी तथा उद्धारका गतिविधि सञ्चालन भइरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?