© 2026
सल्यान ।
सल्यानमा ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि अभियान थालिएको छ । तस्बिर मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ यहाँ क्लिक सल्यान अभियान सुरु गरिएको हो ।
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई तस्बिरमा कैद गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यका साथ अभियान सुरु गरिएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जनाएको छ । अभियान अन्तर्गत पहिलो फोटो वाक कार्यक्रम जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर ३ जुगेनामा अवस्थित धागे छरा झरनामा सम्पन्न भएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष अमृत बाबु बुढाथोकीले जनाए ।
आगामी दिनमा जिल्लाका अन्य पर्यटकीय गन्तव्यमा पनि फोटो वाक कार्यक्रम सञ्चालन गरिने जनाउँदै उनले कालिमाटीको कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका पदाधिकारी तथा सदस्यसँगै जिल्लामा क्रियाशील अन्य सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको जनाए ।
अभियानमा सहभागी नेपाल पत्रकार महासङ्घ सल्यानका अध्यक्ष तथा राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका सल्लाहकार डिल्लीराज रावतले पर्यटन प्रवर्द्धनका लागि यस्तो अभियान प्रभावकारी हुने जनाए । फोटो पत्रकारहरूले फोटो मार्फत जिल्लाको पर्यटन सम्भावना उजागर गर्ने प्रयास निकै सकारात्मक रहेको बताउँदै क्लिक सल्यान अभियानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।
सल्यानका प्राकृतिक, धार्मिक,ऐतिहासिक र सांस्कृतिक सम्पदालाई फोटोमार्फत देश विदेशसम्म चिनाउनका लागि तस्बिरको प्रयोग र अभियान सार्थक बन्ने अपेक्षा लिइएको छ ।