© 2026
काठमाडौँ । राष्ट्रियसभा बैठकको आकस्मिक समयमा सांसदहरूले देशमा सामाजिक सद्भाव कायम गरी धार्मिक तथा जातीय एकतामा जोड दिन अपिल गरेका छन् ।
सांसद आनन्दप्रसाद ढुङ्गानाले सुनसरीको घटनाले धार्मिक द्वन्द्वले समाजको सद्भाव बिथोल्ने हुँदा देशको एकताका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । उनले सरकारले तत्काल सुनसरीको घटनाको समाधान खोज्नसमेत आग्रह गरे ।
सांसद पूजा चौधरीले देशमा हिन्दु, मुस्लिम, सिख, बुद्ध, इसाईलगायत सबै धर्मका अनुयायी एकबद्ध रहेको बताइन् । नेपालमा सबै जात, समुदाय र धर्मबिच भाइचाराको सम्बन्ध रहेको बताउँदै उनले यो एकता कायम राख्नुपर्नेमा जोड दिइन् ।
सांसद जयन्तीदेवी राईले साउन ११ गते आइतबार डिजे बाजा र धार्मिक झन्डाका विषयमा स्थानीयबिच उठेको विवादको प्रसङ्ग उठाइन् । उनले दङ्ग सुरु हुनु पूर्व नै सरकारले समाधानको बाटो रोज्नुपर्ने बताइन् ।
सांसद रोश्नी मेचेले सरकारले संवेदनशील भएर सुनसरीको घटनाको समाधान बेलैमा गर्नुपर्ने बताइन् । “यो देश निर्माण हामी सबै जातजाति मिलेर निर्माण गरेको हो,” उनले भनिन्, “पीडित परिवारलाई पूर्ण न्याय र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ ।”
सांसद तुलप्रसाद विश्वकर्माले सम्पूर्ण देशवासीलाई संयमित रहन, जातीय तथा धार्मिक हिंसा भड्काउने कुरामा सहभागी नहुन र देशमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न अपिल गरे । सुनसरीबाट सुरु भएको साम्प्रदायिक द्वन्द्व फैलिन नदिन सरकारले बेलैमा कदम चाल्नुपर्ने सुझाव उनले दिए ।