© 2026
भैरहवा । कपिलवस्तुमा सुत्केरी गराउन अस्पताल पुगेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि उनका श्रीमानले उपचारमा चिकित्सकीय लापरबाही भएको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेका छन् ।
सम्बन्धित अस्पतालले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरेको छ भने घटनाबारे प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ ।
कपिलवस्तु नगरपालिका–७ धमौलीकी ३० वर्षीया चनरमति यादवको उपचारका क्रममा मृत्यु भएको हो । उनका श्रीमान् राजेश कुमार यादवले कपिलवस्तु अस्पतालमा उपचारका क्रममा लापरबाही भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन् । राजेशका अनुसार साउन ५ गते बिहान श्रीमतीलाई प्रसूति गराउन कपिलवस्तु अस्पतालमा भर्ना गरिएको थियो ।
साउन ७ गते राति शल्यक्रियामार्फत छोराको जन्म भएको थियो । तर, भोलिपल्ट बिहान अस्पतालले अत्यधिक रक्तस्रावसहित अवस्था जटिल भएको भन्दै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा रिफर गरेको उनले बताए ।
राजेशले उपचारका क्रममा भएको चिकित्सकीय त्रुटिका कारण श्रीमतीको स्वास्थ्य अवस्था जटिल बनेको दाबी गरेका छन् । उनका अनुसार चार दिनसम्म उपचारपछि साउन १२ गते साँझ करिब ५ः३० बजे चनरमतिको मृत्यु भएको हो ।
जाहेरीमा उनले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण श्रीमतीको मृत्यु भएको आरोप लगाउँदै दोषीमाथि कानुनी कारबाही, उपचारमा लागेको खर्च, क्रिया खर्च, उचित क्षतिपूर्ति तथा जन्मिने बित्तिकै आमा गुमाएका नवजात शिशुको पालनपोषण र शिक्षाको जिम्मेवारी अस्पतालले लिनुपर्ने माग गरेका छन् ।
राजेशका अनुसार मृतकको शव पोस्टमार्टमका लागि सुरुमा भैरहवास्थित भीम अस्पताल लगिएको थियो । त्यहाँ पोस्टमार्टम हुन नसकेपछि शवलाई बुटवलस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको कारणबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।
यता, कपिलवस्तु अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लले अस्पतालमाथि लगाइएका आरोप अस्वीकार गरेका छन् । उनका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले शल्यक्रिया गरेको र उपचारका क्रममा कुनै लापरबाही नभएको अस्पतालको दाबी छ । उनले शल्यक्रियापछि करिब १२–१३ घण्टासम्म बिरामीको अवस्था सामान्य रहेको तथा पछि मृगौलासम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवा रिफर गरिएको बताए ।
“शल्यक्रियाका क्रममा रक्त नली काटिएको भन्ने आरोप सत्य होइन । यदि त्यस्तो भएको भए त्यससम्बन्धी विवरण उपचारका अभिलेखमा पनि देखिनुपर्ने थियो,” शुक्लले भने ।
उनले बिरामीको मृत्यु रिफरपछि उपचारकै क्रममा भएको उल्लेख गर्दै अनुसन्धानमा अस्पतालले पूर्ण सहयोग गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले घटनाको अनुसन्धान गर्ने अधिकार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको रहेको जानकारी दिए ।
उनका अनुसार राजेश कुमार यादवले रुपन्देही प्रहरीमा जाहेरी दर्ता गराएका छन् । तर घटना कपिलवस्तु जिल्लामा भएकाले आवश्यक कागजात तथा पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पठाइनेछ ।
प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदन, उपचारसम्बन्धी कागजात तथा अन्य प्रमाणका आधारमा घटनाबारे थप अनुसन्धान गरिनेछ । अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
(समाचारमा उल्लेखित अस्पतालमाथिका आरोप जाहेरीकर्ताको दाबीमा आधारित छन् । घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन, चिकित्सकीय परीक्षण तथा प्रहरी अनुसन्धानबाट पुष्टि हुन बाँकी छ ।)