Butwal Today

काँग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने

१५ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  नेपाली काँग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँगसमेत संवाद गर्ने जनाएको छ ।

सुनसरीको कप्तानगञ्जको घटना र सोपश्चात् तराईका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका सन्दर्भमा काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडास्तरसम्म नै सो पहल गर्ने निर्णय गरेको हो ।

बैठकले सुनसरीलगायत पछिल्ला दुःखद घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले घटनाको सत्य तथ्य छानबिनका लागि तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

साथै काँग्रेसले न्यायिक छानबिन समिति गठन, घाइतेको निःशुल्क उपचार तथा समुचित व्यवस्थापन र तोडफोड तथा आगजनी भएका धन सम्पत्तिको क्षतिपूर्ति दिलाउने विषयमा सरकारलाई निरन्तर प्रश्न र खबरदारी गर्नुपर्ने जनाएको छ ।

काँग्रेसका लागि यस सङ्कटपूर्ण र संवेदनशील घडीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै यसका लागि जिम्मेवारपूर्वक पहलकदमी लिने जनाएको छ ।

काँग्रेसको नेतृत्व रहेको मधेस प्रदेश सरकार तथा स्थानीय सरकार र जनप्रतिनिधिले नागरिकको सुरक्षा तथा सामाजिक सद्भाव, सहिष्णुता कायम गर्न, घाइते परिवारलाई आवश्यक सहयोग पुर्‍याउन तथा सामाजिक सद्भाव अभियानका लागि विशेष अग्रसरता लिने निर्णय गरेको छ ।

प्रदेश, जिल्ला र स्थानीय सबै तहका समितिले तत्तत् तहमा युवासँग छलफल र संवाद गर्ने, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, प्रदेशसभा सदस्य, काँग्रेसका केन्द्रीय पदाधिकारी एवं सदस्य तथा तहगत कार्यसमितिका सबैले आआफ्नो जिल्लामा उपस्थित भई समुदायसँग संवाद गर्ने, घाइते र परिवारसँग भेट्ने तथा सामाजिक सद्भावका लागि पहलकदमी लिने काँग्रेसको निर्णय छ ।

पार्टीका कुनै पनि सदस्यलाई घटनासँग जोडिएका संवेदनशील विषयमा तत्काल प्रतिक्रियात्मक नभई सत्य तथ्य बुझेर मात्र धारणा बनाउन तथा मिथ्या सूचना, अफवाह वा उत्तेजनामा नलाग्न बैठकले आग्रह गरेको छ । साथै हिंसा वा उत्तेजना फैलाउने तथा त्यस्ता कार्यलाई प्रोत्साहन हुने कुनै पनि गतिविधि नगर्न र गर्न नदिन पनि बैठकले निर्देशन दिएको छ ।

पार्टीको कुनै पनि तह र तप्कामा जिम्मेवारीमा रहेको व्यक्ति वा सदस्य हिंसामा सरिक भएको वा सामाजिक सद्भाव र सहिष्णुता खलबल्याउने कार्यमा सहभागी भएमा त्यो कार्य पार्टीका लागि अस्वीकार्य हुने र विधानबमोजिम कारबाही गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

काँग्रेस सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाडौँमा उपलब्ध मधेस प्रदेश र सुनसरी, मोरङलगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?