Butwal Today

बञ्चरेडाँडाको फोहर व्यवस्थापन सुधार गर्न सञ्चार मन्त्रीको निर्देशन

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहर व्यवस्थापन स्थलमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायलाई प्रभावकारी पहल गर्न निर्देशन दिएका छन् ।

सञ्चार मन्त्रालयमा आज आयोजित छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका वरिष्ठ डिभिजनल इन्जिनियर रुपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधिको सहभागिता रहेको थियो ।

छलफलपछि सञ्चारमन्त्री डा। तिमिल्सिनाले फोहर व्यवस्थापनको प्रभावकारी अनुगमन, स्थानीयवासीको गुनासोको तत्काल सुनुवाइ, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहर व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले स्थानीयले उठाउँदै आएका गुनासालाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

स्थानीयवासीले बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म पुग्ने सडक जीर्ण रहेको, फोहरबाट दुर्गन्ध फैलिने, फोहर बोकेका सवारीसाधन नछोपेर सञ्चालन गरिने, बाटोमै फोहर खसालिने, फोहर विसर्जनपछि गाडी नधोई उपत्यका फर्काइने तथा फोहरलाई पर्याप्त माटोले नछोपिने (क्यापिङ) जस्ता समस्या रहेको गुनासो गर्दै आएका छन् ।

छलफलमा काठमाडौँ महानगरपालिकाबाहेक अन्य २० वटा स्थानीय तहबाट पनि बञ्चरेडाँडामा फोहर ल्याइने भए पनि व्यवस्थापनको जिम्मेवारीमा ती स्थानीय तहको प्रभावकारी सहभागिता हुन नसकेको विषय उठाइएको थियो । हाल सञ्चालन तथा व्यवस्थापनको अधिकांश जिम्मेवारी र आर्थिक भार काठमाडौँ महानगरपालिकाले नै व्यहोर्दै आएको छ ।

सञ्चारमन्त्री तिमिल्सिनाले बञ्चरेडाँडाको नियमित र आकस्मिक अनुगमन गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीको गुनासो तत्काल सम्बोधन हुने व्यवस्था मिलाउन र ल्याण्डफिल साइटसम्म पुग्ने सडक यथाशीघ्र निर्माण गर्न निर्देशन दिए ।

“बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म जाने बाटो निकै खराब छ भन्ने गुनासो धेरै आएका छन् । बाटो बनाउने काम तत्काल सुरु गर्नुहोस् । त्यसका लागि आवश्यक स्रोत व्यवस्थापन सम्बन्धित निकायले समन्वय गरेर गर्नुपर्छ,” उनले भने, “स्थानीयलाई राहत दिन आवश्यक पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्छ ।” फोहर व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न स्रोतमै फोहर छुट्टाउने, सङ्कलन तथा ढुवानी प्रणालीलाई प्रभावकारी बनाउने र नागरिकको सेवा सन्तुष्टि बढाउने विषयमा भएका प्रगतिबारे पनि मन्त्री तिमिल्सिनाले जानकारी लिएका थिए ।

बैठकमा काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा भइरहेको फोहर व्यवस्थापन, क्यापिङ, दैनिक सञ्चालन, कर्मचारी परिचालन तथा व्यवस्थापन प्रक्रियाबारे जानकारी गराएको थियो ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बञ्चरेडाँडा ल्याण्डफिल साइटको दीर्घकालीन व्यवस्थापनका लागि फोहर सङ्कलन केन्द्रको सङ्ख्या बढाउने, फोहर वर्गीकरण र ग्रेडिङ प्रणाली विस्तार गर्ने योजना अघि बढाइएको बताए ।

उनका अनुसार विकेन्द्रित फोहर व्यवस्थापन अवधारणाअनुसार काठमाडौँ महानगरलाई सात वटा फोहर क्लस्टरमा विभाजन गरी सुक्खा फोहर आफ्नै क्षेत्रमा पुनः प्रयोग (रिसाइकल) गर्ने योजना रहेको छ । तर, ग्रेडिङ केन्द्र निर्माणका लागि आवश्यक जग्गा प्राप्ति र अन्य प्रक्रिया पूरा हुन नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको उनले जानकारी दिए ।

हाल बञ्चरेडाँडामा पुग्ने फोहरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने रहेको छ । स्रोतमै फोहर छुट्टाउने अभ्यास प्रभावकारी नहुँदा वर्गीकरणमा समस्या देखिएको र त्यसले ल्याण्डफिल साइटमा थप चुनौती सिर्जना गरेको महानगरपालिकाले जनाएको छ । दैनिक दुई सयभन्दा बढी फोहर बोकेका ट्रक बञ्चरेडाँडा पुग्ने गरेका छन् । वर्षायाममा कच्ची सडकका कारण सवारीसाधन पटक–पटक बाटोमै अड्किने, त्यसबाट दुर्गन्ध फैलिने र स्थानीय जनजीवन प्रभावित हुने समस्या पनि छलफलमा उठाइएको थियो ।

नेपाल सरकारले एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरेको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहर विसर्जन सुरु गरिएको हो । यो नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ ।

हाल बञ्चरेडाँडामा काठमाडौँ उपत्यकासहित २१ वटा स्थानीय तहबाट दैनिक औसत २०० ट्रक फोहर विसर्जन हुँदै आएको छ । बैठकले फोहर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन सबै स्थानीय तहबिच साझा जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?