© 2026
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
काँग्रेसका सभापति गगनकुमार थापाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि उनका छोराले दागबत्ती दिएका थिए । श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न काँग्रेसका शीर्ष नेतासहित विभिन्न राजनीतिक दलका नेताहरू आर्यघाट पुगेका थिए ।
यसअघि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । त्यहाँ पनि विभिन्न राजनीतिक दलका शीर्ष नेताले पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।वरिष्ठ नेता श्रेष्ठको ७९ वर्षको उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । उनी विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय थिए ।
काँग्रेसका अनुसार श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनः स्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलन र सङ्घर्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा उनले पटक–पटक गरी करिब छ वर्ष जेल जीवनसमेत बिताएका थिए ।
श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसै गरी, २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य बनेका थिए । उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।