Butwal Today

भारतीय ‘स्वीट कर्न’ ७ करोडभन्दा बढी मूल्यको आयात

१२ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । नेपाली किसान खेतबारीमा उत्पादन भएको मकै भित्र्याउन व्यस्त रहेका बेला होटल तथा रेष्टुरेन्टमा प्रयोग हुने ‘स्वीट कर्न फ्रोजन’ भने भारत र चीनबाट आयात भइरहेको छ । स्वदेशी मकैले उचित मूल्य नपाइरहेका बेला विदेशी ‘स्वीट कर्न’ को आयात बढ्दो क्रममा देखिएको छ ।

होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रेले नेपाली होटल तथा रेष्टुरेन्टमा ‘स्वीट कर्न’ ग्राहकको रोजाइमा पर्ने गरेको बताए ।

“हाम्रै गाउँघरमा प्रशस्त मकै उत्पादन हुन्छ । तर ‘स्वीट कर्न’ भने छिमेकी मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ,” उनले भने, “यहीँ उत्पादन भएको मकैलाई नै ‘स्वीट कर्न’ बनाउन सके राम्रो हुन्थ्यो ।”

उनका अनुसार ‘स्वीट कर्न’मा चिल्लो पदार्थ कम हुने भएकाले पनि यसको माग बढ्दै गएको छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२र८३ मा सात करोड ३९ लाख ९४ हजार रुपैयाँ बराबरको आठ लाख ९८ हजार १९८ किलोग्राम ‘स्वीट कर्न फ्रोजन’ आयात भएको छ । यसबाट सरकारले एक करोड ४० लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०८१र८२ मा भारतबाट आठ करोड ६४ लाख दुई हजार रुपैयाँ बराबरको नौ लाख पाँच हजार ७०१ किलोग्राम ‘स्वीट कर्न फ्रोजन’ आयात भएको थियो । सोही अवधिमा चीनबाट आठ हजार रुपैयाँ मूल्य बराबरको ७५ किलोग्राम ‘स्वीट कर्न फ्रोजन’ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त आर्थिक वर्षमा ‘स्वीट कर्न’ आयातबाट सरकारले एक करोड ७४ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

भन्सार विभागका तथ्याङ्कअनुसार विदेशबाट ‘स्वीट कर्न’ मात्र होइन, ठूलो परिमाणमा खाद्यान्न मकै पनि आयात भइरहेको छ । आर्थिक वर्ष २०८२र८३ मा भारत, टर्की, ब्राजिल, अर्जेन्टिना, कतार, चीनलगायत मुलुकबाट १२ अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० करोड ६५ लाख ४५ हजार ९०६ किलोग्राम खाद्यान्न मकै आयात भएको छ ।

त्यसैगरी, आर्थिक वर्ष २०८१ र ८२ मा आधा दर्जनभन्दा बढी मुलुकबाट १९ अर्ब २७ करोड ६९ लाख ८५ हजार रुपैयाँ बराबरको ३८ करोड ३१ लाख नौ हजार २६९ किलोग्राम खाद्यान्न मकै आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?