Butwal Today

जङ्गलको काखमा झरेको पुरन्धरा झरना, पर्यटकको बढ्दो आकर्षण

१० श्रावण २०८३, आइतबार
अ+
अ-

दाङ ।  तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमतर्फ कलकल बगिरहेको बबई नदी । नदीबाट केही मिटरको दूरीमा करिब ४५ फिट उचाइबाट झर्ने स्वच्छ पानीको धारा । प्रकृतिले आफ्नै हातले कोरेजस्तो यो मनोरम दृश्य दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धरा झरनाको हो ।

केही वर्षअघिसम्म वर्षायाममा पुग्नै कठिन मानिने यो झरना अहिले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । सडक तथा अन्य आधारभूत पूर्वाधार विस्तार भएसँगै वर्षायाममा पनि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

वैशाख–जेठको तुलनामा वर्षायाममा पर्यटकको चहलपहल केही घटे पनि झरना अवलोकन गर्न दैनिक सयौँ पर्यटक पुग्ने गरेका छन् । झरनाको छेउमा पुगेपछि अधिकांश आगन्तुक केहीबेर प्रकृतिको सौन्दर्यमा रमाउँछन्, तस्बिर र सेल्फी खिच्छन् तथा झरनाबाट खसेको पानीले बनाएको प्राकृतिक पोखरीको दृश्य आफ्नो क्यामेरामा कैद गर्छन् । गर्मीयाममा भने यही पोखरी पौडी खेल्नेहरूको रोजाइ बन्ने गरेको छ ।

झरनाको व्यवस्थापनमा कार्यरत कर्मचारी कुलबहादुर बुढाका अनुसार अहिले दैनिक करिब ३०० जनासम्म पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन् । सार्वजनिक बिदाका दिन यो सङ्ख्या अझ बढ्ने गरेको छ ।

“दाङका विभिन्न स्थानसँगै बाँके, सल्यान, रोल्पा, सुर्खेतलगायत जिल्लाबाट तथा भारतबाट पनि पर्यटक आउने गरेका छन्,” उनले भने । उनका अनुसार प्रवेश शुल्क नलिए पनि पार्किङ शुल्कबाट सङ्कलित रकम कर्मचारीको पारिश्रमिक, झरनाको संरक्षण तथा पूर्वाधार विकासमा खर्च गरिन्छ ।

पुरन्धरा झरनाको अर्को विशेषता यसको प्राकृतिक बनोट हो । झरनाबाट खसेको पानी तल प्राकृतिक पोखरीजस्तो भागमा जम्मा भएर विस्तारै बबई नदीमा मिसिन्छ । झरनाको वरिपरि रहेको बाक्लो वन, चराचुरुङ्गीको चिरबिराहट र नदीको सुसाइले यहाँ पुग्ने जो–कोहीलाई केहीबेर प्रकृतिसँगै रमाउन बाध्य बनाउँछ ।

तुलसीपुरबाट साथीहरूसँग झरना अवलोकन गर्न पुगेका ज्येष्ठ नागरिक तथा योग प्रशिक्षक घनश्याम अधिकारीले यहाँ पर्यटन विकासको अझ ठूलो सम्भावना रहेको बताए । “बाटो राम्रो बनेपछि पहिलोपटक यहाँ आएँ । निकै राम्रो लागेको छ,” उनले भने, “बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा तथा वन्यजन्तु र चराचुरुङ्गी अवलोकनजस्ता गतिविधि थप्न सके यो पश्चिम नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ ।”

ज्येष्ठ नागरिक इन्द्रलाल खत्रीका अनुसार झरनामा आउने पर्यटकका लागि चमेना गृह, शौचालय, विश्रामस्थल तथा अन्य आवश्यक पूर्वाधार विस्तार गर्न सके स्थानीयको आयआर्जनसमेत बढ्न सक्छ ।“यो प्राकृतिक सम्पदाको सही उपयोग गर्न सके यहाँको आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउन सक्छ,” उनले भने ।

पुरन्धरा झरनाले प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक पृष्ठभूमि पनि बोकेको छ । स्थानीयका अनुसार शताब्दीअघि यो क्षेत्र घना जङ्गलले ढाकिएको थियो । घाँसदाउरा गर्न तथा गाईबस्तु चराउन जङ्गल जाने स्थानीयले आवतजावतका क्रममा यो झरनाको पहिचान गरेका थिए । अहिले पनि झरनाबाट करिब १०० मिटरको दूरीमा रहेको सिद्धेश्वर महादेव मन्दिरमा शिवरात्रिका अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।

बबई गाउँपालिकाका अध्यक्ष कुलप्रसाद केसीका अनुसार झरनालाई जिल्लाकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गुरुयोजना कार्यान्वयन भइरहेको छ । उनले गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा सङ्घ सरकारको सहयोगमा सडक, सिँढी र अन्य पूर्वाधार निर्माण गरिएकाले अहिले वर्षभरि नै झरनामा सहज रूपमा पुग्न सकिने बताए ।

“पहिले वर्षायाममा यहाँ आउन निकै कठिन थियो,” उनले भने, “अहिले पक्की सडक र अन्य संरचना बनेपछि जुनसुकै मौसममा पनि पर्यटक आउन सक्ने अवस्था बनेको छ ।”

तुलसीपुर–हापुरे–सुर्खेत सडक खण्डअन्तर्गत टवाङ खोलाबाट करिब आठ किलोमिटर दक्षिणपश्चिममा रहेको पुरन्धरा झरना अहिले दाङ पुग्ने धेरै पर्यटकको आकर्षक गन्तव्य बनेको छ । प्राकृतिक सौन्दर्य, बढ्दो पूर्वाधार र स्थानीयको सक्रियताले पुरन्धरा झरनाले पश्चिम नेपालको पर्यटन नक्सामा थप बलियो पहिचान बनाउँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?