Butwal Today

सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह

९ श्रावण २०८३, शनिबार
अ+
अ-
बागमती ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र मासु व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सरकारद्वारा तोकिएका मापदण्ड पालना गरेर मात्रै व्यवसाय गर्न अनुरोध गरेको छ ।
प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा विभिन्न स्थानमा सञ्चालित मासु पसलले सरसफाइमा लापरबाही गरेको, स्वच्छ तथा स्वास्थ्यकर मासु बिक्री वितरण नगरेका, सरकारले तोकेको न्यूनतम मापदण्डसमेत पालना नगरेको विषयमा उपभोक्ताबाट गुनासो प्राप्त भइरहेको उल्लेख गरिएको छ ।
अनुगमनका क्रममा लापरबाही देखिएको भन्दै प्रशासनले जिल्लाभित्र सञ्चालित मासु पसल व्यवसायीले तोकिएका मापदण्ड तथा सर्तहरू अनिवार्य रूपमा पालना गर्न/गराउन आग्रह गर्दै पालना नगरिएमा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५, पशु वधशाला तथा मासु जाँच नियमावली, २०५७, उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ मा भएको व्यवस्थाबमोजिम कारबाही गरिने प्रशासनले सूचनामार्फत जनाएको छ ।
सम्बन्धित निकायबाट कानुनबमोजिम अनुमति तथा दर्ता गरी मात्र मासु व्यवसाय सञ्चालन गर्ने, पशु वधशालाको उचित व्यवस्थापन गर्ने, रोगी, शङ्कास्पद, मरेको वा प्राकृतिक रूपमा मरेको पशुको मासु बिक्री नगर्ने, आवश्यक परेमा वध पूर्व तथा वधपश्चात् मासु परीक्षण गराउनुपर्नेलगायत सरकारद्वारा तोकिएका सर्तहरू अनिवार्य रूपमा पालना गर्न सबै व्यवसायीलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?