© 2026
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन सेवाको समस्या रहेको विषयमा मन्त्री तिमिल्सिनाले गम्भीर चासो व्यक्त गर्दै तत्काल सेवा विस्तार गर्न निर्देशन दिएका हुन् । त्यहाँ सडक सञ्जालमार्फत सामान ढुवानी गर्न नसकिने भएकाले हेलिकप्टरबाट आवश्यक उपकरण ढुवानी गर्ने व्यवस्था मिलाउन पनि उनले निर्देशन दिएका छन् ।
मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल टेलिकमले साउनभित्रै टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ । टावर निर्माणका लागि आवश्यक सामग्री धनगढी, कैलालीसम्म ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध भएमा काम छिटो सम्पन्न गर्न सकिने टेलिकमले जनाएको छ ।
देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माणका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग निरन्तर समन्वय भइरहेको छ । बडीमालिकालगायत पर्यटकीय तथा दुर्गम क्षेत्रमा जतिसक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने विषयमा मन्त्री तिमिल्सिनाले शुक्रबार प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गरेका छन् । उक्त छलफलमा अनलाइन सट्टेबाजी (बेटिङ) एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा समेत छलफल भएको थियो ।
मन्त्री तिमिल्सिनाले शुक्रबार नै बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग पनि भेटवार्ता गरेका छन् । भेटमा बडीमालिका क्षेत्रमा आवश्यक पूर्वाधार, सञ्चार सेवा विस्तार तथा सडक सञ्जालको अवस्थाबारे छलफल भएको थियो ।
सरकारको दुर्गम क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्ने प्रतिबद्धताअनुसार नेपाल टेलिकमले काम गरिरहेको छ । टेलिकमले बाजुराको बडीमालिका मन्दिर क्षेत्र (४,२०० मिटर उचाइ) मा तत्काल फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ । साथै सगरमाथा आधार शिविर क्षेत्रमा पनि फोरजी सेवा विस्तारका लागि अध्ययन अगाडि बढाइएको छ ।
यसै योजनाअन्तर्गत केही दिनअघि मात्रै डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३,९०० मिटर उचाइमा सफलतापूर्वक फोरजी सेवा सञ्चालनमा आएको छ । त्यसैगरी ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा ३,४०० मिटर उचाइमा पनि फोरजी सेवा सुरु भइसकेको छ ।
देशका अन्य दुर्गम स्थानमा पनि टेलिफोन र इन्टरनेट सेवा विस्तारका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ । डिजिटल विभाजन घटाउने र सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने लक्ष्यअनुसार सञ्चार मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ ।
हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार ६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अघि बढिसकेको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा मात्र करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।