जनकपुरधाम । बजारमा आर्थिक तरलताको अवस्था रहे पनि आन्तरिक राजस्व कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२र८३ मा ६ अर्ब ६ करोड ७८ लाख ८८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालय प्रमुख आनन्दकुमार गुप्ताका अनुसार पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्र बनाएपछि वार्षिक लक्ष्यको ८८.४९ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको हो ।
कार्यालयले आर्थिक वर्ष २०८२र८३ मा अन्तःशुल्कतर्फ २ अर्ब ५५ करोड ७ लाख ३० हजार रुपैयाँ, आयकरतर्फ २ अर्ब ६ करोड ८२ लाख १ हजार रुपैयाँ तथा मूल्य अभिवृद्धि करतर्फ १ अर्ब २८ करोड ४० लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
त्यसै गरी, ब्याज करतर्फ ७ करोड ७८ लाख ३ हजार रुपैयाँ, बहाल करतर्फ ५ करोड २५ लाख ३७ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ४ लाख ३१ हजार रुपैयाँ तथा अन्य शीर्षकमा ३ करोड ४० लाख ८७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख गुप्ताले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा कार्यालयले ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा ४ अर्ब ९० करोड रुपैयाँ सङ्कलन गरेको थियो ।
प्रमुख गुप्ताका अनुसार आर्थिक वर्ष २०८२र८३ का लागि ६ अर्ब ८५ करोड ७२ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।
हाल कार्यालयमा व्यक्तिगत तथा व्यावसायिक गरी १ लाख ७३ हजार ९६८ करदाता दर्ता रहेका छन् ।
करदाताको घरमै पुग्ने, टेलिफोन तथा एसएमएसमार्फत ताकेता गर्ने र कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्ने अभियान सञ्चालन गरिएकाले १० करोड रुपैयाँभन्दा बढी पुरानो बक्यौता असुल गर्न सफल भएको प्रमुख गुप्ताले बताए ।