© 2026
सिंहदरबारको एउटा प्रवेशद्वारबाट जस्तै सन्तलाई शासक बनाएर पठाए पनि अर्को ढोकाबाट बाहिरिने बेलामा चाल्र्स शोभराज बनेर निस्कन्छ भन्ने चलन छ कतिपय वौद्धिक जगतमा । कृष्णप्रसाद भट्टराई सन्त नेता थिए ।
छाता, सुराही र बाकस लिएर सिंहदरबार छिरेर निस्कँदा पनि उस्तै रहे । मनमोहन अधिकारीलाई उस्तै भनेर मान्नेको कमी छैन र छैन सुशील कोइरालालाई पनि । सभामुखमा दमननाथ ढुङ्गाना बाहेक अरूले मर्यादा जोगाउन नसकेको आरोप लागेकै छ ।
विश्वनाथ उपाध्यायपछि जति पनि प्रधान न्यायाधीश बने, ती सबै विवादित भए । दलीय राजनीतिले सवैतिर एकैचोटी सखाप पारेर सक्यो । को कति बिग्रे, त्यसको लेखाजोखा गरेर साध्ये छैन । टुप्पीदेखि पैतालासम्म कोही चोखो भेटिदैन । सपार्ने प्रयासमा बालेन सरकार लागेको त देखिन्छ, तर यति धेरै बिग्रेको छ कि सामान्य सुधारले सहज हुने छाँट देखिँदैन ।
युवा प्रधानमन्त्रीको आँटलाई प्रोत्साहन गर्ने कि पुरानै ढाँट, छल र कपटका पछि लागेर अझै बिगार्ने ? बाटो आफैले रोज्ने हो । के गर्ने हो ? चुनावबाट पराजित भएका पुराना दलका कथित पीडितका पागल प्रलाप आफ्नै ठाउँमा छन् । उनीहरूले त बालेन सरकार जति छिटो बदनाम भएर जान्छ, उति छिटो हाम्रो पुरानै लूटको स्वर्ग फर्कन्छ भनेर लाग्ने नै भए ।
उनीहरूका लागि लोकतन्त्र त्यही हो र हो गणतन्त्रको असली अभ्यास पनि । सवै साधारण जनताले भने आफ्नै तरिकाले लिन्छन् र भन्छन्– अभ्यास र अनुभव नभएका नौसिका युवाहरूको सरकारको काम नहेरी लखेट्नतिर लाग्नु हुन्न । पुराना दलको सरकार पैतीस वर्षसम्म हे¥यौं, व्यहो¥यौं । जोशिला युवाहरूको नयाँ सरकारलाई पनि पैतीस महिनासम्म क्ुर्ने हो । राम्रो गरे समर्थन गर्ने हो । नगरे घेर्ने हो ।
अटेर गरे लघार्ने हो र विकल्प खोज्ने हो ।’ जनताको यस्तो परिपक्व सोचप्रति विमति जनाउनु पर्ने कारण त देखिँदैन । तर जुन तरिकाको आन्तरिक असन्तुष्टि चुलिएको भनिदैछ रास्वपा र सरकारमा, त्यो कुरा साँचो हो भने पैतीस महिनासम्म यो सरकार टिक्छ कि टिक्दैन, यसै भन्न सकिदैन । रवि र बालेन मिलेपछि गत फागुनमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय तरिकाले बहुमत पाएकाले देश भित्र र बाहिर चर्चा हुनु स्वभाविकै थियो, भयो । सहमति अनुसार बालेन शाहको नेतृत्वमा सरकार पनि बन्यो । साढेतीन महिना कटायो सरकारले ।
सयदिनमा पूरा गर्ने भनेर गरेका बाचा आधा पूरा भएर आधा बाँकी रहेको माने कतिपयले । विपक्षीले त पूरै असफल भएको भने । सत्तापक्षले सफल र विपक्षीले असफल रहेको भन्नुलाई अन्यथा मान्न मिल्दैन । दुवैतिर नलागेर बीचमा बसेर स्वतन्त्र रहेर निस्पक्ष समीक्षा गर्नेले भने – अनुभव र अभ्यासको अभावले हतारमा काम गर्न खोज्दा विधि र प्रक्रिया मिलाउन सकेनन् ।
गल्तीबाट पाठ सिक्दै सुधार्दै गए सफल होलान् । नत्र, विफल भएर बाहिरिन नपर्ला भन्न सकिन्न । संसदीय अभ्यास पटक्कै नभएका बालेनको स्वभाव अन्तर्मुखी र एकोहोरो खालको रहेछ । समझदारी पनि सीमित व्यक्ति र शक्तिसित मात्रै गर्न खोज्ने, पार्टीभित्र र बाहिरका विपक्षीहरूसंग संवादबाट टाढै रहने, कामैले जवाफ दिने भन्ने खालको । सदनमा उठेका जिज्ञासाको जवाफ दिन नखोज्ने, दिए पनि विवादित विषय बोलेर आफैलाई अफ्ठ्यारोमा पारेर संयदीय मर्यादामा कायम रहन नसक्ने चाल–ढालको ।
यसले सम्मान भन्दा बढी अपमान गर्न खोज्नेलाई मौका दियो । त्यसैले सदन र सञ्चार माध्यममा रास्वपा एक्लियो । सभामुख समेत विवादमा परेका छन् । पार्टीकै सांसदलाई मौन बस्न पर्दा आरोप लगाउनेहरू बढेका देखिन्छन् । काठमाण्डौ भित्रका नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा गरेको जोर जबरजस्तीले लोकप्रिय सरकारलाई अलोप्रिय बनायो । पार्टीको प्रथम महाधिवेशन गर्दा, निर्वाचनमा जाँदा समेत आपसमा विवाद नदेखाउने, मिलेर जाने भने पनि सोचेजस्तो भएन ।
विजित र पराजित पक्षले सीधै नभने पनि एक अर्कोप्रति मन दुःखाएको र पारितोषिक पाएको ठानेको देखियो । सभापतिले मनोनित गर्नपर्ने पदाधिकारी र सदस्यको मनोनयन समेत समयमा हुन नसकेर रोकिएको छ । आन्तरिक र बाह्य विवाद बढ्दै गएर बिग्रह पो हुने हो कि भन्ने छ । यसैले पार्टी सभापति र प्रधानमन्त्रीका बीचमा भेटघाट भयो । आपसी छलफलका क्रममा कति सहमति भयो कुन विषय थाती रह्यो ? जनता जान्न चाहन्छन् ।
अन्तर्मुखी स्वभावका प्रधानमन्त्री र वाकपटु सभापति आपसी सहमतिमै अगाडि बढ्दै गए राम्रै होला । एक अर्कोलाई किनारमा लगाउन खोजे सरकार र पार्टी दुवैलाई घाटा नहोला भन्न सकिन्न । सहमतिमै अगाडि बढ्न खोज्ने स्वभाव रहेछ सभापतिमा । बालेन र उनको टिममा त्यस्तो रहेनछ भन्ने परेको छ समाजमा ।
त्यसैले बालेनको बदनामी बढेका बेलामा रवि अगाडि बढुन् र सरकार चलाउन् भन्ने चाहेका देखिन्छन्, देशभित्र र बाहिरका विपक्षीहरू पनि । विपक्षीको चाहनानुसार चल्ने कि आफ्नै तरिकाले सहमतिमा जन–चाहना अनुसारको काम गरेर अघि बढ्ने ? सोच्ने बेला आएजस्तो छ । पार्टी र सरकार दुईतिर लागेको नदेखियोस् । अन्तरसंघर्ष हैन, आत्मसमीक्षा र सहमतिमै अघि बढेको देखाइयोस् ।
जनताको चित्त बुझाइयोस् । नसके कर्म अनुसारको फल भोगेर बाहिरिने हो । आफैले सोच्ने हो, के हुने हो ? ‘उद्योगमन्त्री गौरी यादवलाई पक्राउ गर्न प्रधानमन्त्री बालेनले आइजीपीलाई सीधै आदेश दिएको’ नेपाल खबरको समाचारले राम्रै खैलाबैला मच्चाएको थियो केही दिन पहिले । बालेनले स्वर्णिम वाग्ले र सोविता गौतमलाई मन्त्रीबाट हटाउन खोजेको र रविले प्रधानमन्त्रीका कुटिल सल्लाहकारद्वय बेन र शाहलाई हटाउन भनेको खबरले बजार तताएको छ अहिले । दुवै समाचारमा कति सत्यता छ ? दिनेले जानुन् ।
तर अवस्था जस्तो देखिदैछ र समाजले जस्तो मान्दैछ, यदि त्यस्तै हो भने सिंहदरबारको परम्परागत प्रवृत्तिले रास्वपालाई पनि नसिध्याउला भन्न सकिन्न । लोकप्रिय बन्न भन्दा बनिसकेको लोकप्रियता बँचाउन गाह्रो हुन्छ भन्ने विषय बुझेनन् भने रास्वपा र बालेन नेतृत्वको सरकारले पनि पुरानै दलको दुर्गति नभोग्लान् भनेर मान्न सकिन्न । कद र पद नमिलेपछि त्यसले ल्याउने मदले मान्छेलाई हद नघाउँछ ।
दुईचोटी राष्ट्रपति बनेर पनि पदको भोक नमरेर कार्यकर्ता बनेर फेरि मन्त्रीको लाममा लाग्ने मान्छे जन्माउने मुलु्क हुनाले । जति पाएर र खाएर पनि कहिलै नघाउनाले ।